भैरहवा समाचारदाता
भैरहवा, माघ २२ गते । निर्वाचन तालिका सार्वजनिक हुनुअगावै रुपन्देहीमा सुरु भएको चुनावी गतिविधिप्रति निर्वाचन आचारसंहिता अनुगमन समितिले कडा आपत्ति जनाउँदै तत्काल रोक्न निर्देशन दिएको छ । आचारसंहिता उल्लङ्घन भए उम्मेदवारी बदर हुनेसम्मको दण्डात्मक व्यवस्था लागु गरिने चेतावनी दिइएको छ ।
आचारसंहिता कार्यान्वयन र अनुगमनका लागि रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्य र प्रमुख कोष तथा लेखा नियन्त्रक मञ्जुकुमारी जैसी ढकाल सदस्य रहेको जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति गठन गरिएको छ । निर्वाचन अवधिमा हुने खर्चको अनुगमन प्रमुख कोष तथा लेखा नियन्त्रकले गर्ने छन् भने आचारसंहिता पालना भए/नभएको अनुगमन सहायक प्रमुख जिल्ला अधिकारीले गर्ने व्यवस्था गरिएको छ ।
जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले आगामी प्रतिनिधि सभा निर्वाचनलक्षित भैरहवामा ‘निर्वाचन आचारसंहिता, २०८२’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा सबै पक्षलाई आचारसंहिता अक्षरशः पालना गर्न आग्रह गरिएको छ । आचारसंहिता पालना नभए कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
कार्यक्रममा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउन आचारसंहितामा समेटिएका प्रावधानबारे विस्तृत जानकारी गराइएको थियो । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख कल्पना अर्यालले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्रै मतदानको १७ दिनअघि प्रचारप्रसार सुरु गर्न पाइने र बिहान ७ देखि साँझ ७ बजेसम्म मात्र कार्यक्रम गर्न अनुमति हुने स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार निर्वाचन क्षेत्रमा अनुमति लिएर बढीमा दुई वटा सवारीसाधन मात्र प्रयोग गर्न पाइने छ भने सवारी ¥याली पूर्ण रूपमा निषेध गरिएको छ । दलको चिह्न अङ्कित टोपी, टिसर्ट, झोला, मास्कजस्ता सामग्री प्रयोग गर्न नपाइने तथा तोकिएको मापदण्ड अनुसारका पर्चा मात्र प्रयोग गर्न पाइने नियम पनि कडाइका साथ लागु गरिने छ । त्यसै गरी प्रचारप्रसारमा बालबालिकाको प्रयोग, भित्तेलेखन, ठुला डिजिटल बोर्ड प्रदर्शन तथा धर्मका नाममा प्रचारप्रसार गर्न निषेध गरिएको छ । जुलुस वा आमसभा गर्नुअघि स्थानीय प्रशासनबाट अनुमति लिनुका साथै २४ घण्टाअगावै जानकारी गराउनुपर्ने व्यवस्था पनि दोहो¥याएर स्मरण गराइएको छ ।
जिल्ला आचारसंहिता अनुगमन अधिकारी मातृका आचार्यले आचारसंहिता कार्यान्वयनका लागि सबै निकायबिच निरन्तर समन्वय भइरहेको जानकारी दिनुभयो । समयअगावै झन्डा प्रयोग, मोटरसाइकल ¥याली, सामूहिक भोजभतेर र ठुला डिजिटल बोर्ड प्रयोगसम्बन्धी उजुरी प्राप्त भइरहेको उल्लेख गर्दै उहाँले मापदण्डविपरीत सामग्री तत्काल हटाउन निर्देशन दिइएको बताउनुभयो । अटेर गरेमा सुरक्षा निकायमार्फत हटाइने व्यवस्था गरिएको उहाँले स्पष्ट पार्नुभयो । उजुरी व्यवस्थापन प्रभावकारी बनाउन छुट्टै ह्वाट्सएप समूहसमेत सञ्चालनमा ल्याइएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै मतदाताले निर्भीक भएर मतदान गर्न सक्ने वातावरण तयार पारिएको बताउनुभयो । प्राप्त गुनासा सोही दिन सम्बोधन गर्न अनुगमन टोलीलाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले निर्वाचन आचारसंहिता कानुनी दायित्व मात्र नभई नैतिक प्रतिबद्धता पनि भएको उल्लेख गर्दै यसको पूर्ण पालनाबिना स्वच्छ निर्वाचन सम्भव नहुने बताउनुभयो ।
भड्किलो प्रचार, बालबालिकाको दुरुपयोग र व्यक्तिगत मर्यादामा आँच पु¥याउने गतिविधिमा कडा कारबाही गरिने चेतावनी दिँदै उहाँले सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालालाई आचारसंहिताको सम्मान गर्न आग्रह गर्नुभयो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।