• २२ माघ २०८२, बिहिबार

इलाम क्षेत्र नं. २ प्रतिस्पर्धामा एमाले–कांग्रेस नै

blog

इलाम क्षेत्र नं. २ को प्रतिस्पर्धामा रहनुभएका नेपाली कांग्रेसका भेषराज आचार्य र एमालेका सुहाङ नेम्वाङ ।तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, माघ २२ गते   ।  इलाम क्षेत्र नं. २ मा चुनावी गतिविधि निकै बढेको छ । चुनावी मैदानमा रहेका यस क्षेत्रका १४ जना उम्मेदवार आआफ्नै ढङ्गले मतदाताको घर घर पुगिरहेका छन् । 

संविधान सभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको क्षेत्र भनेर चिनिने इलाम क्षेत्र नं. २ मा पछिल्लो समय सुहाङ नेम्वाङको लोकप्रियता बढेको छ । २०८१ को उपनिर्वाचनमा २७ हजार ७७२ मत प्राप्त गरेर विजयी भएका सुहाङ अबको निर्वाचनमा पनि यही क्षेत्रमा नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएको छ । नम्र स्वभाव, मिलनसार र शालीन व्यक्तित्वका सुहाङलाई यहाँका मतदाताले प्रिय मान्दै आएका छन् । उहाँ आफ्नो १६ महिनाको संसदीय अभ्यासमा आफूले गरेका काम र जिल्लाका लागि गरेको कामले पनि आफूलाई यस पटक पनि यहाँको मतदाताको साथ र सहयोग मिल्ने दाबी गर्नुहुन्छ । 

गएको असोज १८ गतेको बाढीपहिरो र विपत्पछि जिल्लाका सबै पीडितलाई घरघरै भेट्न पुगेका सुहाङलाई उनीहरूको पनि सहानुभूति रहेको देखिन्छ । 

सुहाङका पिता सुवाससँग पटक पटक हार बेहोरेका नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्य यस पटक पनि चुनावी मैदानमा हुनुहुन्छ । २०४८ पछिका हरेक निर्वाचनमा इलाम–२ मा दोस्रो बन्दै आएको नेपाली कांग्रेसका आचार्य पार्टी नेतृत्व नै बदलिएको सन्दर्भमा यस पटक नतिजा आफ्नो पक्षमा आउने विश्वासमा हुनुहुन्छ । लामो समयदेखि इलाम–२ को सामाजिक र राजनीतिक क्षेत्रमा योगदान गरेको बताउने आचार्य यस पटक सजिलै आफ्नो जित हुने दाबी गर्नुहुन्छ । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ मा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले यस क्षेत्रबाट ३० हजार २० मत प्राप्त गरी विजयी हुनुभएको थियो । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९०६ मत प्राप्त गर्नुभएको थियो । त्यसअघि २०७४ को संविधान सभा निर्वाचनमा पनि नेम्वाङले कांग्रेस उम्मेदवार भेषराज आचार्यलाई पराजित गर्नुभएको थियो । निकै अनुभवी र खारिएका नेता आचार्य विगतको झिनो मतान्तरलाई यस पटक हटाएर आफू विजयी हुनेमा विश्वस्त हुुनुहुन्छ । 

यस क्षेत्रमा एक लाख १९ हजार ४८९ मतदाता रहेका छन् । स्थानीय पालिका र अघिल्ला निर्वाचनको मतपरिणाम हेर्दा पनि अन्य दल र नयाँ उम्मेदवारको जनमत बुझ्दा यस पटक पनि एमाले–कांग्रेसकै बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको इलाम देउरालीका दिनेश सुवेदी बताउनुहुन्छ । सुवेदीले भन्नुभयो, “तर एमाले–कांग्रेस दुवैका उम्मेदवारलाई विजयी बन्न त्यति सजिलो चाहिँ छैन ।” यसअघिको उपनिर्वाचनमा सुहाङलाई तत्कालीन नेकपा माओवादीको पनि सहयोग थियो तर अहिले माओवादीसहितको अन्य दलबाट बनेको गठबन्धनको दल नेपाली कम्युनिस्ट पार्टीको आफ्नै उम्मेदवार चुनावी मैदानमा छन् ।

संविधान सभा अध्यक्ष तथा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनपछि भएको २०८१ को उपनिर्वाचनमा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ प्राप्त गर्नुभएको थियो । सो निर्वाचनमा एमालेका सुहाङको मतान्तर पाँच हजार ७८० मत थियो । उक्त निर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो स्थानमा रहनुभएको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू पाँच हजार ५० मत प्राप्त गरेर चौथो बन्नुभएको थियो ।