• २२ माघ २०८२, बिहिबार

महिलाका समस्या बुझ्नेलाई मत

blog

ताँजाकोट गाउँपालिकाका महिला मतदाता आफ्ना समस्या सुनाउँदै । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, माघ २२ गते । हुम्लाका महिलाले आफ्ना समस्या नजिकबाट बुझ्ने र समाधान गर्ने उम्मेदवारलाई मात्र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मत दिने बताएका छन् । चुनावी प्रचारका क्रममा मतदाता रिझाउन गाउँ गाउँ पुगेका उम्मेदवारलाई महिलाले यस्तो प्रतिक्रिया दिएका हुन् । 

महिलाका समस्या हालसम्म समाधानको प्रयास नगरिएको विगतलाई सम्झँदै ताँजाकोट गाउँपालिकाको केन्द्र पुगेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार टासी ल्हान्जोमलाई अगाडि राखेर उक्त गाउँकी महिला पानसरा शाहीले आफ्ना समस्या समाधान गर्नेलाई मात्र निर्वाचनमा मत दिने बताउनुभयो । जसले महिलाको समस्या समाधान गर्ने अर्थपूर्ण र भरपर्दो प्रतिबद्धता जनाउन सक्छ, सोही उम्मेदवारलाई नै मत दिने उल्लेख गर्नुभयो । महिलाका समस्या समाधानका लागि हालसम्म तिनै तहका सरकारबाट काम हुन नसकेको अवस्थामा आफूहरूले बढी कार्यबोझ भोग्नु परिरहेको उहाँको भनाइ छ । 

हालसम्म मत माग्नका लागि कोही उम्मेदवार पनि नपुगेको बताउने सर्केगाड गाउँपालिका–४ की शारदा सार्कीले कानुनले व्यवस्था गरेका सुविधाबाट पनि महिला वञ्चित भइरहेको अवस्थामा अब महिला सशक्तीकरणका लागि काम गर्न सक्ने उम्मेदवारलाई मत दिएर निर्वाचित गराउने चाहना भएको बताउनुभयो । महिलाका समस्या धेरै भएको बताउँदै उहाँले सबै समस्या एकै पटक समाधान नगरे पनि क्रमशः गर्ने उम्मेदवारलाई हुम्लाका महिलाले मत दिनुपर्ने उल्लेख गर्नुभयो । अब सधैँ पार्टीको उम्मेदवार भनेर मात्र नहुने भन्दै उहाँले काम गर्न सक्नेलाई आफ्नो एक मत जाने बताउनुभयो । 

चङ्खेली गाउँपालिका–४ की बासना शाहीले महिलाले गर्ने दैनिक कामको बोझ घटाउन सहयोग गर्ने उम्मेदवारलाई मत दिने चाहना रहेको बताउनुभयो । चङ्खेली गाउँपालिकामा पनि हालसम्म उम्मेदवार पुग्न सकेका छैनन् । सबै उम्मेदवार घरदैलो गरिरहेको सिमकोट गाउँपालिका–३ की कारसाङ लामाले महिलाका दुःख व्यथा, पीरमर्का बुझ्ने उम्मेदवारलाई आफ्नो मत जाने र जिल्लाभरका महिलाले पनि सोचेर मतदान गर्न आग्रह गर्नुभयो । महिलालाई स्वरोजगारी सिर्जना गर्ने सिप तथा क्षमता विकास कार्यक्रम, सिँचाइ तथा खानेपानीको सहज व्यवस्था, तिनै तहका सरकारले महिलाका लागि गर्नुपर्ने काम गराउन पहल गर्ने क्षमता भएका उम्मेदवारलाई मत दिनु आवश्यक रहेको उहाँले बताउनुभयो । 

हालसम्म दुई वटा पार्टी नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार डा. दीपेन्द्र रोकायाको टोली चुनावी प्रचारका लागि घरदैलोमा आइपुगेको र उहाँहरूसँग समस्या स्पष्टसँग राखेको जानकारी शाहीले दिनुभयो । 

उम्मेदवारको भेट ज्येष्ठ नागरिकसँग 

घरदैलो कार्यक्रममा जाँदा ज्येष्ठ नागरिकसँग मात्र भेटघाट हुने गरेको छ । घरमा युवा नभएपछि गाउँमा ज्येष्ठ नागरिक मात्रै बसेका कारण उनीहरूसँग मात्रै भेट हुने गरेको हो । नेपाली कम्युनिस्ट पार्टीको चुनावी प्रचार अभियानमा सिमकोट गाउँपालिका–१, २ र ३ मा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका नेकपा केन्द्रीय सदस्य हस्तबहादुर शाहीले गाउँमा मतदातासँग चुनावी प्रचारप्रसारका लागि घर घरमा पुग्दा ज्येष्ठ नागरिकसँग मात्र भेटघाट हुने बताउनुभयो । हिमपातले प्रचारप्रसारमा जान नसकिने गएका गाउँबस्तीमा पनि ज्येष्ठ नागरिकसँग मात्र घेट हुन थालेपछि मतदान कार्यबाट धेरै मतदाता छुट्ने चिन्ता थपिएको उहाँले बताउनुभयो । 

सिमकोट गाउँपलिका–३ का विभिन्न गाउँमा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकायाको चुनावी प्रचार अभियानमा पुगेका नेपाली कांग्रेस हुम्लाका उपसभापति वसन्त रोकायाले उम्मेदवारको कुरा सुन्ने र आफ्ना कुरा सुनाउने सबै बुढापाका मात्र गाउँमा रहेको बताउनुभयो । युवकयुवती गाउँबाहिर रहेका कारण केही बस्तीमा त फाट्टफुट्ट रूपमा मतदातासँग भेट हुने गरेको बताउँदै उहाँले कम मतदाता मतदान कार्यमा भाग लिने अवस्था आउने सक्ने उल्लेख गर्नुभयो । सिमकोट गाउँपालिकाका जति पनि बस्तीमा प्रचारका लागि पुग्दा त्यहाँ बुढापाका मात्र भेटिएकाले जिल्लामा धेरै कम मतदाता रहेको नेकपा (एमाले) का नेता दल रावलले बताउनुभयो ।