• २२ माघ २०८२, बिहिबार

बाक्लो हुस्सु, कुहिरोले जनजीवन प्रभावित

blog

सर्लाहीमा बिहीबार बिहान हुस्सु, कुहिरो लाग्दाको दृश्य । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, माघ २२ गते ।
सर्लाहीसहित मधेश क्षेत्रमा दुई दिनदेखि पुनः बाक्लो मात्रामा हुस्सु, कुहिरो लागेसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ ।

यहाँ आज (बिहीबार) पनि बिहानैदेखि १०० मिटर अगाडिको दृश्यसमेत देख्न मुस्किल पर्ने गरी बाक्लो मात्रामा हुस्सु लागेर स्याँठ चलिरहेकाले स्थानीयले चिसो महसुस गरेका छन् । यसअघि बुधबार पनि बिहानभर यसैगरी बाक्लो हुस्सु, कुहिरो लागेकोमा दिउँसोपख भने उघ्रिएर घाम लागेको थियो ।

मधेशमा यो वर्ष पुस महिनाभर नै शीतलहर चलेको थियो । लामो शीतलहरका कारण जनजीवन प्रभावित हुनुका साथै तोरी, आलुलगायतका दलहन तथा तेलहन बालीको उत्पादनमा कमी आएको किसानले बताएका छन् ।

माघ लागेपछि गर्मी चढ्दै गइरहेकोमा बुधबारदेखि पुनः बाक्लो, हुस्सु कुहिरो लाग्न थालेको हो । हुस्सु, कुहिरोका कारण विद्यालय जाने बालबालिका, ज्येष्ठ नागरिक, दीर्गरोगी, मजदुर, किसान र अत्यावश्यक काम परेर यात्रा गर्नुपर्नेहरु मारमा परेका छन् ।

यस्तो मौसममा पशु, चौपायलाई सुरक्षित राख्न र घाँस, कुँडो गर्न समस्या पर्ने गरेको हरिपुर नगरपालिका–२, सखुवाका ध्रुवप्रसाद प्रसाईले गुनासो गर्नुभयो । हुस्सु, कुहिरोले गोलभेँडासहितका अन्य तरकारीमा बालीमा डण्डीजन्य सङ्क्रमणले भेट्ने किसानले गुनासो गरेका छन् ।

बाक्लो हुस्सु, कुहिरो लागिरहेकाले पूर्वपश्चिम राजमार्गसहित अन्य भित्री सडकमा सवारी साधनहरु दिउँसै बत्ती बालेर गुडिरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवम् प्रहरी निरीक्षक अशोककुमार साहले यस्तो मौसममा सवारी साधन चलाउने र यात्रा गर्ने दुवै पक्ष अत्यन्त चनाखो हुनुपर्ने बताउनुभयो ।

उहाँले चालकहरुलाई अनिवार्य बत्ती बालेर सिमित गतिमा सवारी साधन चलाउन आग्रह गर्नुभएको छ । अहिले पूर्वपश्चिम राजमार्ग निर्माणको क्रममा ठाउँठाउँमा डाइभर्सन निर्माण गरिएकाले अझ बढी सावधानी अपनाउनुपर्ने ट्राफिक प्रहरीका इन्स्पेक्टर साहको भनाइ छ ।