• २२ माघ २०८२, बिहिबार

धनराज–पद्माको निर्वाचन क्षेत्रमा नयाँ अनुहारबिच प्रतिस्पर्धा

blog

स्याङ्जा क्षेत्र नं. २ का कांग्रेस उमेदवार भागवतप्रकाश मल्ल र एमाले उमेदवार खिमबहादुर थापा, रास्वपका झविलाल डुम्रे, नेकपाका पदम विश्वकर्मा । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), माघ २२ गते ।
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य एकै पटक भएको २०७९ को निर्वाचनमा स्याङ्जा निक्कै चर्चित रह्यो । देशभरको मतगणनाको नतिजा आइसक्दा स्याङ्जा–२ मा भने सुरु नै हुन सकेको थिएन ।

कांग्रेस तत्कालीन उपसभापति धनराज गुरुङ र नेकपा(एमाले)का सचिव पद्माकुमार अर्यालले प्रतिस्पर्धा गरेको यो क्षेत्रमा विवादका कारण झण्डै १५ दिनपछि मात्रै मतगणना सुरु भएको थियो ।

यो पटक भने दुवैजना प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा हुनुहुन्न । पद्मा कुमारी अर्याल समानुपातिक उम्मेदवार बन्दा धनराज गुरुङ भने चुनावी प्रतिस्पर्धाभन्दा बाहिर हुनुहुन्छ ।

२०७९ मा लामो समयसम्म वालिङ नगरपालिकाको कार्यालयमा मतपेटिका सिल लगाएर राखिएको थियो भने बाहिर कांग्रेस र एमालेले छुट्टाछुट्टै धर्ना र नारावाजी गर्दै बस्दथे जसका कारण स्याङ्जा देशभर नै चर्चामा थियो र समयमा मतगणना हुन सकेको थिएन ।

यो पटक भने दुवैजनाले नयाँ अनुहारलाई पालो दिएका छन् । कांग्रेसबाट युवा नेता तथा पूर्व प्रदेश सांसद भागवतप्रकाश मल्ललाई उम्मेदवार बनाएको छ भने नेकपा(एमाले)ले कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापालाई उम्मेदवार बनाएको छ । गाउँपालिकाका महासंघका महासचिव समेत रहनु भएका थापा दोस्रो पटक कालीगण्डकी गाउँपालिकाको अध्यक्ष बन्नु भएको थियो । उहाँ दोस्रो कार्यकालको एक वर्ष बढीको अवधी बिचमा नै छोडेर प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिनुभएको हो ।

मल्ल तरुणदल स्याङ्जाको सभापति हुँदै लगातर महासमिति सदस्य रहँदै आउनु भएको छ । भागवत स्याङ्जामा पहिचान बनाउनु भएका व्यवसायी स्वर्गीय गजिन्द्रप्रकाश मल्लको छोरा हुनुहुन्छ ।

थापा कालीगण्डकी गाउँपालिका र मल्ल चापाकोट नगरपालिकाका हुनुहुन्छ । अर्काे रोचक पक्ष यो पटक दुवै उम्मेदवार यही क्षेत्रका हुनुहुन्छ । यो पटक रास्वपाका झविलाल डुम्रेलाई समेत प्रतिस्पर्धीको रुपमा हेरिएको छ ।

यो क्षेत्रमा तत्कालीन नेकपा माओवादी केन्द्रले भने उम्मेदवारी दिएका थिएन । अहिले नेपाली कम्युनिष्ट पार्टीबाट पदम विश्वकर्माले उम्मेदवारी दिनु भएको छ । उहाँ पनि नयाँ अनुहार हो ।

२०७९ मा भएको चुनावमा कांग्रेसका गुरुङले ३१ हजार ४६६ मत ल्याएर निर्वाचित हुनु भएको थियो । यस्तै एमालेका अर्यालले २५ हजार ८३९ मत पाउनुभएको थियो । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले आठ हजार ११३ मत पाउनु भएको थियो ।

स्याङ्जा क्षेत्र नं. २ मा समानुपातिकमा पनि कांग्रेस सबैभन्दा ठुलो दल बनेको थियो । कांग्रेसले २७ हजार ९९९ मत र एमालेले २४ हजार ४७६ मत ल्याएको थियो । दुवै उमेद्वारको समानुपातिक मत घट्दा रास्वपाको भने बढेको थियो २०७९ मा रास्वपाले १० हजार ९५० मत पाएको थियो ।

चापाकोट र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिका पूरै तथा वालिङ नगरपालिकाको ३ र ४ वडा तथा भीरकोट नगरपालिकाका १,२,३ र ४ वडा बाहेकको क्षेत्र क्षेत्र नं. २ मा पर्दछ ।

यो क्षेत्रमा एक लाख १७ हजार ९३० मतदाता रहेका छन् । जहाँ ९ दलका नौ जना र तीन जना स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । २०७९ मा स्याङ्जा–२ मा के भएको थियो ।

चापाकोट नगरपालिकाका चार वटा मतदान केन्द्रमा बुथकब्जा गरेको आरोप लगाउँदै नेकपा (एमाले) लगायतका दलले मतगणना गर्न दिएका थिएनन् । उनीहरुले चार वटै मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै लामो समय बिरोध गरेका थिए । चापाकोट नगरपालिका वडा नम्बर ३,४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदयालु, चिठ्ठी पोखरी बुथमा नेपाली कांग्रेसले धाँधली गरेको एमालेको आरोप थियो । यि मतदानमा झण्डै शतप्रतिशत मत खसेको भन्दै पितृले पनि मतदान गरेको भन्दै अहिले पनि सामाजिक सञ्जालमा चर्चा हुने गर्दछ ।

त्यतिबेला यस क्षेत्रमा शान्तपूर्ण रुपमा मतदान भएको भन्दै मतदानमा खटिएका मतदान अधिकृतले रिपोर्ट दिएका थिए यस्तै निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला स्थित सुरक्षा निकायले पनि चुनावमा कुनै समस्या नआएको रो सबैदलको रोहवरमा नै मतपेटिका सुरक्षित तरिकाले कार्यालयमा ल्याई राखिएको प्रतिवेदन दिएको थियो । मतपेटिका कोठामा राख्ने बेलासम्म सबै दलको सहमति रहेको तत्कालिन निर्वाचन अधिकृत रामचन्द्र शर्माले पत्रकार सम्मेलन नै गरेर जानकारी गराउनु भएको थियो । 

निर्वाचन आयोगले तत्कालै मतगणना अगाडि बढाउन निर्देशन दिएपछि ढिलोगरी मतगणना गरिएको थियो । यो क्षेत्रका प्रदेश सभाअन्तर्गत दुवै प्रदेशमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।