सन्तोष दहित
दाङ, माघ २२ गते । ग्रामीण महिला उत्थान केन्द्र दाङले विपन्न समुदायका एकल महिलालाई फर्निचर तथा दैनिक जीवनमा आवश्यक सामग्री सहयोग गरेको छ । केन्द्रले राजपुर र गढवा गाउँपालिकाका पाँच घरपरिवारलाई दराज, खाट, सिरक, डस्ना, तन्ना, सिरानीलगायत सामग्री प्रदान गरेको हो ।
राजपुर गाउँपालिका वडा नं. १ तब्दारपुर निवासी निर्मला चौधरी, वडा नं. २ बेलाकी कैलाशपति चौधरी तथा गढवा गाउँपालिका वडा नं. २ महादेवाकी कैलाशपति चौधरीलाई उक्त सहयोग गरिएको ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीले जानकारी दिनुभयो । यस्तै, गढवा गाउँपालिका वडा नं. ४ कट्याङगाउँकी प्रमिला चौधरी र वडा नं. ५ कक्रहवाकी जीबी विश्वकर्मालाई प्रति परिवार १–१ थान खाट, एक थान दराज, १–१ थान फाइबर सिरक, १–१ थान डस्ना, १–१ थान तन्ना, एक जोडी सिरानी र पी–फोमलगायत सामग्री प्रदान गरिएको हो । यस सहयोगले विपन्न परिवार तथा बालबालिकाको पठनपाठनमा सहयोग पुग्नुका साथै जाडोयाममा राहत मिल्ने अपेक्षा गरिएको अध्यक्ष चौधरीले बताउनुभयो ।
यसैबिच, सहयोग सामग्री पाएपछि गढवा गाउँपालिका वडा नं.. २ महादेवाकी ८० वर्षीया कैलाशपति चौधरीले जाडोको समयमा ठुलो राहत मिलेको बताउनुभयो । पहिले बसोबास गर्ने घर कमजोर अवस्थामा रहेकामा संस्थाले पक्की घर निर्माण गरिदिएको र अहिले लुगा राख्ने दराजसहित दैनिक जीवनमा चाहिने आवश्यक सामग्री प्राप्त हुँदा अत्यन्तै खुशी लागेको उहाँको भनाइ थियो । उहाँले आफ्नी नातिनी इलावतीको पढाइमा समेत सहयोग पुर्याएको भन्दै संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
केन्द्रले यसअघि ती पाँच परिवारसहित ६ परिवारका लागि भूकम्प प्रतिरोधात्मक दुई कोठे पक्की घर तथा शौचालय निर्माण गरी हस्तान्तरण गरिसकेको जनाएको छ । केन्द्रका अनुसार गत वर्ष र यस वर्ष गरी गढवा र राजपुर गाउँपालिकाका विपन्न परिवारका एकल महिला तथा १६ वर्षमुनिका बालबालिकाका लागि १४ वटा आवास निर्माण गरी लाभग्राही परिवारलाई हस्तान्तरण गरिएको छ । निवास संस्था तथा सम्बन्धित गाउँपालिकासँगको साझेदारीमा घर निर्माण कार्य गर्दै आएको केन्द्रकी अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।