भौगोलिक रूपमा नेपाल र जापान सिमाना जोडिएका छिमेकी मुलुक होइनन् । टाढा छन् तर दुई देशबिच सम्बन्ध घनिष्ठ छ । स्वार्थ र समस्यारहित सम्बन्धले दुई देशका नागरिकलाई मित्रताको मालामा उनेको छ । नेपालको आर्थिक, सामाजिक र पूर्वाधार विकासमा जापानले निरन्तर सहयोग पु¥याउँदै आएको छ । नेपालका धेरै युवा अहिले अध्ययनका निम्ति जापानमा छन् । जापानी रोजगारी बजारमा नेपालले जनशक्तिसमेत आपूर्ति गर्दै आएको छ । होटेल तथा रेस्टुराँलगायतका व्यवसायमा धेरै नेपाली जापानमा सहभागी छन् । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव वर्षभरि मनाइयो । त्यही अवसरमा टोकियोमा सोमबार भव्य समारोह आयोजना गरियो । दुई देशबिच घनिष्ठ सम्बन्धका सात दशकको गहन समीक्षासँगै आगामी दिनमा पारस्परिक मित्रता र विश्वासिलो सम्बन्धको अपेक्षा गरियो । जापान सरकारले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक हुनुभयो । उहाँले नेपाल र जापानबिचको सबन्धलाई उचाइमा पु¥याउन नयाँ ढङ्गले अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभयो । द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन निरन्तर प्रयत्न अगाडि बढेकाले पनि राष्ट्रपति पौडेलको भ्रमण फलदायी भएको छ । उहाँले जापानी सम्राट् नारुहितोसँग भेटवार्ता गर्नुभयो । राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री सनाय तकाइचीले शिष्टाचार भेट गर्नुभयो । आगामी वर्षमा दुई देशबिचको सम्बन्धलाई गहन, फलदायी साझेदारी र नवीन सहकार्यमा यो उच्चस्तरीय भ्रमणका दूरगामी कूटनीतिक महìव रहने देखिएको छ ।
नेपाल र जापानबिचको सम्बन्ध सात दशक पुरानो मात्र होइन । सन् १८९९ मा जापानी भिक्षु एकाइ कावागुची तिब्बती बौद्ध धर्म अध्ययन गर्न तिब्बत जाने क्रममा पटक पटक नेपाल आई सम्बन्धको जग बसाल्नुभयो । त्यो भ्रमण दुवै देशको सम्बन्धमा कोसेढुङ्गा जस्तै भयो । उहाँले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभयो । पवित्र स्थल लुम्बिनीको विकासमा उहाँको योगदान त्यतिबेलै महत्वपूर्ण थियो । जापानसँग संस्थागत सम्बन्ध भने सन् १९५६ सेप्टेम्बर १ बाट आरम्भ भयो । सोही दिन दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भयो । सात दशक लामो द्विपक्षीय सहयात्रा आपसी हित, विकास साझेदारी एवं दुईदेशीय नागरिक सम्बन्धको फराकिलो आयाममा अनुकरणीय छ । नेपाल भ्रमण गर्ने पहिलो जापानीका रूपमा नेपाल सरकारले विसं २०६० मा भिक्षु कावागुचीको तस्बिरअङ्कित हुलाक टिकटसमेत प्रकाशित गरेको थियो । गौतम बुद्ध जन्मस्थल लुम्बिनीको विकासप्रति जापानको योगदान अविस्मरणीय छ । लुम्बिनीको गुरुयोजना तयार पार्न जापानी वास्तुविद् केन्जो टाँगेको योगदान भुल्न सकिन्न । उहाँकै गुरुयोजना अनुसार लुम्बिनीको पूर्वाधार विकास अगाडि बढ्दै छ । जापानले राणाकालदेखि नै नेपालको विकासमा सहयोग पु¥याउँदै आएको छ । राणा प्रधानमन्त्री देवशमशेरको समयमा आठ जना नेपाली विद्यार्थी अध्ययन गर्न जापान गएका थिए । खनिज, यान्त्रिकी, खरखजाना, प्रविधि तथा उन्नत कृषिक्षेत्रसम्बन्धी उनीहरूले ज्ञान हासिल गरी नेपाल फर्र्किए । नेपालमा आधुनिक ज्ञान विस्तार गर्न त्यो महत्वपूर्ण अवसर थियो ।
जापान गएका विद्यार्थीले ज्ञानसँगै प्रविधि र फलफूलका बिरुवा पनि ल्याए । जापानी वनस्पति तथा फलफूलले नेपालमा प्रवेश पाए । नीललहर, गोदावरी र हलुवाबेद नेपालमा फैलिए । जापान उच्च प्रविधियुक्त मुलुक हो । जापानले नेपालको औद्योगिक विकासमा ठुलो योगदान दिएको छ । कृषि, जलविद्युत्, पूर्वाधार विकासलगायतका क्षेत्रमा जापानी प्रविधि र सिप नेपाली विकासमा सहयोगी भएको छ । काठमाडौँलाई मध्य तराई जोड्ने बिपी राजमार्ग निर्माण जापान सरकारले गरेको हो । त्यो सडकले नेपालको पूर्वाधार विकासमा ठुलो योगदान दिएको छ । सडक तथा सुरुङ प्रविधिमार्फत पूर्वाधार विकासमा जापानी सहयोग अनुकरणीय नै छ । राष्ट्रपति पौडेलको चारदिवसीय यो भ्रमणले दुवै देशको पछिल्ला विकसित घटनाक्रम आदानप्रदानमा पनि सहयोगी देखियो । भदौ २३ र २४ गतेको नवपुस्ता अर्थात् जेनजी विद्रोहपछि नेपाल अहिले नयाँ जनादेशका निम्ति निर्वाचनमा जुटिरहेको छ । सुशासन र भ्रष्टाचारमुक्त समाजसँगै आर्थिक तथा सामाजिक विकासको चाहना तीव्र भएको छ । बदलिँदो जनआकाङ्क्षा पूरा गर्न आगामी दिनमा मित्रदेश जापानको अझ गहन सहयोग र साझेदारीको आवश्यकता पर्न सक्ने छ । नेपालको कृषिलगायतका क्षेत्रमा जापानबाट धेरै ज्ञान सिक्न सकिन्छ । आयामिक अनुभव लिन सकिने छ । विशेष गरी जैविक खेतीप्रति जापानी ज्ञान, अभ्यास र अन्वेषण उपयोगी हुन सक्ने छ । मित्रतालाई फराकिलो बनाउँदै समृद्ध नेपालको महायज्ञमा जापानसँग नयाँ युगको घनिष्ठता अझ उपयोगी हुन सक्ने छ ।