• २२ माघ २०८२, बिहिबार

राप्ती नगरमा माविसम्म निःशुल्क शिक्षा

blog

राप्ती नगरपालिकाको भण्डारामा रहेको भण्डारा माध्यमिक विद्यालय । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 
चितवन, माघ २२ गते ।
चितवनको राप्ती नगरपालिकाले विद्यालय तहको सम्पूर्ण शिक्षा निःशुल्क गरेको छ । पालिकाले निःशुल्क शिक्षा उपलब्ध गराएपछि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ । निःशुल्क शिक्षा लागू गर्नु पूर्व पालिकामा नौ हजार विद्यार्थीले अध्ययन गरेका थिए भने अहिले वृद्धि भएर १४ हजार पुगेको राप्ती नगरपालिका प्रमुख शमशेर लामाले जानकारी दिनुभयो ।

पालिकाले दुई वर्ष अगाडिबाट निःशुल्क शिक्षा लागू गरेको हो । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले कुनैपनि शुल्क तिर्न पर्दैन । कार्यक्रममा विद्यार्थीको आकर्षण बढेपछि राजनीतिक विवादले गर्दा अहिले बजेट निकासा हुन सकेको छैन ।

पालिकामा रहेको ४९ वटा विद्यालयमा अध्ययन गर्ने १४ हजार विद्यार्थीलाई पालिकाले निःशुल्क अध्यापन गर्ने व्यवस्था मिलाएको छ । पालिकाले आफ्नै खर्चमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई समेत निःशुल्क शिक्षा दिएको हो ।

पालिका प्रमुख लामाले भन्नुभयो, “संविधानले दिएको अधिकार अनुसार पालिकाले सरकारी विद्यालयमा अध्ययन गर्ने माध्यमिक तहसम्मका सम्पूर्ण विद्यार्थीले शुल्क तिर्नु पर्दैन ।” पालिकाको महत्त्वकाङ्क्षी योजना पूर्ण रुपमा कार्यान्वयनको चरणमा थियो । तर विभिन्न राजनीतिक विषय निकालेर पालिकामा तालाबन्दी गर्ने, आन्दोलन चर्काउने भएपछि पालिकाको प्रमुख कार्यकारी अधिकृत नै टिक्न सकेको छैन ।

“पालिकाले वार्षिक योजनामा कार्यक्रम राखेर निःशुल्क शिक्षा लागू गरेको हो । सुरुका वर्षमा बजेट निकासा भएर काम भयो” पालिका प्रमुख लामाले भन्नुभयो । गत आर्थिक वर्षको केही बाँकी रकम समेत निकासा गर्न समस्या भएको छ । चालु आर्थिक वर्षको विद्यार्थीलाई दिने खर्च निकासा गर्न नसकिएको उहाले बताउनुभयो ।

पालिकाको चार वटा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ अध्यापन हुँदै आएको छ । ती मध्य राप्ती २ मा रहेको वुद्ध शान्ति माध्यमिक विद्यालयमा कृषि प्राविधिक, राप्ती ६ को भण्डारा माविमा विज्ञान, राप्ती ७ को वीरेन्द्र आवासीय माविमा विज्ञान, राप्ती १ थाकलटार माविमा शिक्षा विषयमा अध्यापन हुँदै आएको छ । तीसहित पालिका सबै विद्यालयमा निःशुल्क शिक्षा लागू गरिएको छ । थाकलटार पालिकाको विकट पहाडी क्षेत्र हो । लामा नगर प्रमुख भएपछि यस विद्यालयमा कक्षा ११ र १२ अध्यापन सुरु गरिएको हो ।

यहाँ अधिकांश विद्यार्थी चेपाङ, गुरुङ र तामाङ रहेका छन् । पालिकाले चेपाङ समुदायको आय आर्जन विकास गर्न कफी खेती गर्न अध्ययन अनुसन्धान गरी निःशुल्क विरुवा वितरण गरेको छ । प्राविधिक सहित विरुवा वितरण र उत्पादन पालिकाले नै खरिद गर्नेसम्मको व्यवस्था मिलाएको पालिका प्रमुख लामाले बताउनुभयो । अहिले पालिको वडा नंं ११, १२ र १३ मा कफीले उत्पादन दिन थालेको जानकारी दिनुभयो ।

राप्ती ६ मा रहेको भण्डारा माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार सिंह लामाले पालिकाले गरेको निःशुल्क शिक्षा कार्यक्रम ज्यादै राम्रो भएको बताउनुभयो । साधारण शिक्षा भन्दा पनि विज्ञान अध्ययन गर्नेहरुको लागि अझै धेरै प्रभावकारी भएको छ । “सुरुका वर्षमा बजेट निकासा हुँदा सजिलो भएको थियो” उहाँले भन्नुभयो “अहिले गत वर्षको केही रकम बाँकी रहेको छ । चालु आर्थिक वर्षको तलब बाहेक अन्य रकम निकासा नहुदा काम गर्न समस्या भएको छ ।” पालिका खुलेर चल्न पाएको छैन । पालिकामा कर्मचारीले काम गर्न पाएमा बजेट निकासा हुनेमा विश्वास लागेको उहाँले बताउनुभयो ।

राप्ती नगरपालिका प्रमुख शमशेर लामाका अनुसार निःशुल्क शिक्षामा वार्षिक ६ करोड रुपियाँ खर्च लाग्दै आएको छ । निःशुल्क शिक्षाको व्यवस्था गरेपछि सामुदायिक विद्यालय अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ । निःशुल्क शिक्षा गर्नु पूर्व पालिका भरीमा नौ हजार विद्यार्थी अध्ययन गर्दै आएका थिए । निःशुल्क शिक्षा लागू भएपछि १४ हजार विद्यार्थीले अध्ययन गर्दै आएको नगर प्रमुख लामाले बताउनुभयो ।

विवादले काम गर्न समस्या 
२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालिन एकीकृत समाजवादीको तर्फबाट विजयी हुनु भएका लामाले नगर प्रमुखको जिम्मेवारी सम्हालेपछि विवाद निकालिएको थियो । पालिकाको वार्षिक बजेटसमेत समयमा पारित गर्न सकेको छैन ।  आर्थिक वर्ष २०८१/२०८२ को बजेट २०८१ भदौको अन्तिममा ल्याएको थियो । संविधान अनुसार असार १० गते भित्र ल्याउनु पर्ने बजेट विवाद कै कारण ल्याउनु नसकेको हो । त्यस्तै गरी चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट भने असारको अन्तिममा ल्याएको थियो ।

वडा अध्यक्षहरु, उपप्रमुखले पालिकाको कार्यक्रम योजनाको विषयमा प्रमुखले प्रयाप्त छलफल नगरेको एकलौटी गरेको आरोप लगाउदै आएका छन् । ४ नंं वडा अध्यक्ष केदारप्रसाद आचार्यले नगरप्रमुखले समन्वय नगरी काम गर्दा समस्या आएको बताउनुहुन्छ । नगरप्रमुखको कार्यशैलीको जनताले विरोध गरेर ताला लगाउने जस्ता कार्य गरेको उहाँले बताउनुभयो ।

यस क्षेत्र पालिका प्रमुख मात्रै समाजवादी पार्टीको तर्फबाट विजयी भएको थियो । बाँकी वडा अध्यक्ष नेकपा एमाले र नेपाली कांग्रेसले जितेको छ । स्वतन्त्र विजयी भएको एकजना पछि समाजवादीमा जानु भएको थियो । अहिले नेकपा पार्टी भएको छ । फागुन २१ गते निर्वाचनको मिति घोषणा भएर चुनाव हुने भएपछि पालिकामा लगाएको ताला खोलिएको छ । अहिले पालिकाले काम गरेपनि प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान कार्यालयमा ताला खुलेपछि विदामा वस्नु भएको छ । पालिकाले ल्याएका राम्रा काम र योजना विवादकै कारण समयमा लागु हुन कठिन हुँदै आएको छ ।