• २२ माघ २०८२, बिहिबार

स्याङ्जामा नवीकरणयोग्य ११८ भरुवा बन्दुकमध्ये २३ मात्रै बुझाइए

blog

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), माघ २२ गते ।
विभिन्न व्यक्तिले इजाजत लिएर राखेका २३ थान हतियार प्रहरी प्रशासनलाई बुझाइएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्याङ्जा प्रशासनले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको थियो । सो निर्देशनपछि २३ थान हतियार प्राप्त भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो ।

हतियार राखेका व्यक्तिले आफूलाई पायक पर्ने नजिकको प्रहरी चौकीमा पुगेर माघ २० गते भित्र हतियार बुझाउन प्रशासनले आग्रह गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाका अनुसार जिल्लामा एक सय १८ हतियार प्रत्येक दुई÷दुई वर्षमा नवीकरण हुँदै आएका छन् । यसमध्ये निक्कै कम हतियार प्रहरीमा बुझाईएको हो । अब हतियार नबुझाउनेहरुको हकमा के गर्ने भन्ने सुरक्षा समितिले निर्णय गर्ने प्रशासनको भनाइ छ । अझैपनि हतियार बुझाउन सकिने बताइएको छ ।

निर्वाचनलाई शान्तपूर्ण वातावरणमा सम्पन्न गर्न प्रशासनले माघ २० गतेभित्र हतियार बुझाउन आग्रह गरेको थियो । प्रशासनले जारी गरेको सूचना अनुसार हतियार बुझाउने समय मङ्गलबार सकिएको छ ।

निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन हतियार खरखजाना ऐन २०१९ को दफा ८ बमोजिम प्रत्येक निर्वाचनका बेला जिल्लाका विभिन्न व्यक्तीसँग इजाजतसहित भएका हतियार प्रहरीलाई बुझाउन आग्रह गर्दै आएको छ । केही समयका लागि हतियार प्रशासनलाई बुझाउन भने पनि निश्चित समयपछि फिर्ता गरिने सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।