चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २२ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजित प्रथम सहिद कप पुरुष फुटबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा सडन डेथमा ५–४ गोल अन्तरले सिरिजङ्घा गाउँपालिकालाई पराजित गर्दै सिदिङ्वाले उपाधि जितेको हो ।
सुरुवाती अग्रता सिदिङ्वाले लिएपछि निर्धारित समयावधिमा दुवै टोलीले बराबरी दुई–दुई गोल भएर खेल समाप्त भएको थियो । सिदिङ्वाका तर्फबाट दुवै गोल विवेक सुनामले गर्नुभएको थियो भने सिरिजङ्घाका तर्फबाट हप्पु लिम्बूले पहिलो र भाइचुङ शेर्पाले दोस्रो गोल गर्नुभएको थियो ।
यसरी दुवै टोलीबाट दुई–दुई बराबरी गोल भएपछि निर्णयका लागि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो । पेनाल्टी सुटआउटमा पाँच–पाँच जनाले गोल प्रहार गर्दा चार–चार गोल बराबरी भएपछि सडन डेथमा सिदिङ्वाका गोलरक्षक विपिन फोम्बोको प्रहार गोलमा परिणत भएसँगै सिदिङ्वाले उपाधि जित्न सफल भएको हो ।
सडन डेथमा गोलरक्षक विमल लिम्बूको प्रहार गोलमा परिणत हुन नसकेपछि सिरिजङ्घाले उपविजेतामा सीमित हुनुपर्यो । पेनाल्टी सुटआउटमा भने सिदिङ्वाका क्रिस राई, शिशिर राई, समिर राई र न्यूसन लिम्बूले गोल गर्नुभएको थियो । विवेक सुनामको प्रहार भने गोल हुन सकेको थिएन ।
त्यस्तै सिरिजङ्घाका तर्फबाट सुमन गुरुङ, भाइचुङ शेर्पा, विपिन माबो र मनकुमार लिम्बूको प्रहार गोल भएको थियो । विवेक मादेनको प्रहार भने गोल हुन सकेन । यता उपाधि विजेता सिदिङ्वा गाउँपालिकाले एक लाख ५१ हजार १११ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता बनेको सिरिजङ्घा गाउँपालिकाले एक लाख एक हजार १११ रुपियाँ नगदका साथै ट्रफी, पदक र प्रमाणपत्रमा चित्त बुझाउनुप¥यो । प्रतियोगिताका विजेता र उपविजेतालाई मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु शेर्पा लामा, वाइसिएलका नेतृत्व लगायतले पुरस्कार राशि, ट्रफी, पदक र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
देश र परिवर्तनका लागि जीवन बलिदान गर्ने महान् सहिदहरुको सम्मान साथै फुङ्फुङगे झरनासहित पर्यटकीय स्थलको प्रवद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल मिक्वाखोला गाउँपालिका कमिटीले प्रतियोगिता आयोजना गरेको हो । सहिद दिवसको अवसरमा माघ १६ गते सुरु भई बुधबार सम्पन्न भएको प्रतियोगितामा आठ टोली सहभागी भएका थिए ।