कविराज घिमिरे
हिले, माघ २२ गते । छिन्ताङ हत्याकाण्डका सहिद रणध्वज पुमाराईका जेठा छोरा भाइलाल राईको घर सहिदभूमि गाउँपालिका–३, पञ्चकन्यास्थित तल्लो डाँडा गाउँमा छ । बुवाको २०३६ सालमा हत्या भएपछि आमा शशिकला राईले निकै दुःखले भाइलाललाई हुर्काउनुभयो । हाल उहाँ मजदुरी र कृषिकर्म गरी जीविकोपार्जन गर्दै आउनुभएको छ । धेरै दुःख भएकाले छोराछोरीलाई समेत राम्रो शिक्षादीक्षा दिन पाउनुभएन । उहाँका दुई छोरा पनि मजदुरी गर्दै आउनुभएको छ । जसोतसो घरसम्म धारो त आएको छ तर त्यसमा पानी नआउँदा खानेपानीको लागि प्रत्येक दिन करिब आधा घण्टाको दुरीमा रहेको कुवा धाउनु पर्छ ।
हरेक चुनाव नजिकिएसँगै उम्मेदवार, राजनीतिक दल तथा नेताहरू उहाँका समस्यालाई आधार बनाएर मत माग्न पुग्छन् । सहिद परिवारलाई रोजगारी, निःशुल्क स्वास्थ्य, शिक्षा, खानेपानी, एकीकृत सहिद बस्तीलगायतका आश्वासन लिएर उहाँको घरमा पुग्ने गर्छन् तर निर्वाचनका बेलामा पार्टी र उम्मेदवारहरूले गरेका वाचा अहिलेसम्म पूरा भएका छैनन् । राई भन्नुहुन्छ, “हरेक निर्वाचनमा रोजगारी, निःशुल्क स्वास्थ्य, शिक्षा, खानेपानी, एकीकृत सहिद बस्तीको आस देखाएर नेताहरू मत माग्ने गर्छन् तर जितेपछि सबै वाचा भुल्छन् ।”
२०३६ कात्तिक २२ देखि २९ गतेका बिचमा पञ्चायती सत्ताले खोकु, छिन्ताङ र आँखीसल्लाका १६ जना स्थानीयवासीको हत्या गरेको थियो । त्यही काण्डमा हत्या गरिएका रणध्वज पुमाराईसहित चन्द्रबहादुर नेपाली, गङ्गाबहादुर तुप्रिहाङ, लाखमान साधु, टङ्कबहादुर विश्वकर्मा, गम्भीरमान दर्जी गरी छ जना सहिद यही गाउँका हुनुहुन्थ्यो । उहाँहरूका परिवारको अहिले पनि यही गाउँमा बसोबास छ । ती सहिदकै प्रेरणामा जागेको जनबलबाट देशको व्यवस्था परिवर्तन भयो । धेरै चुनाव भए, नेताहरूले जितेर गए तर सहिद परिवारको अवस्था जस्ताको तस्तै छ । स्वास्थ्य, शिक्षा, रोजगारी, खानेपानी सबै सहिद परिवारको साझा समस्याका रूपमा रहेको छ । गाउँसम्म बल्लतल्ल धुले बाटो पुगेको छ । तर अन्य धेरै समस्याउपरका आश्वासनले थिचिएका सहिद परिवार कुन चुनावपछि आफ्ना समस्याबाट मुक्त हुने हुन्, कुनै पत्तो छैन ।
छिन्ताङ हत्याकाण्डको करिब चार दशकपछि तत्कालीन सरकारले २०७४ पुसमा त्यहाँ हत्या गरिएकाहरूलाई राष्ट्रिय सहिद घोषणा गरेको थियो । राष्ट्रिय सहिद घोषणा भए पनि आफूहरूले दयनीय अवस्थामा जीवनयापन गरिरहनु परेको सहिद परिवारको गुनासो छ । अहिलेसम्म सहिद परिवारको परिचयपत्रसमेत आफूहरूले पाउन नसकेको सहिद धनवीर दमाईका छोरा सोमवीर दमाई बताउनु हुन्छ । सहिदका नाममा पार्क बनाउनुबाहेक अन्य कुनै काम नगरेको उहाँ गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसअघिका निर्वाचनमा भनिएका एक सहिद परिवार एक धारो, एक सहिद परिवार एक रोजगारी, सहिद परिवार एकीकृत बस्ती, निःशुल्क स्वास्थ्य शिक्षा, छात्रावृत्ति खोइ ?”
हालसम्म सहिद परिवारले छ लाख २५ हजार रुपियाँ आर्थिक सहयोग त पाएका छन् । पालिकाको नाम सहिदभूमि राख्नु र सहिदको सम्झनामा पार्क निर्माण गर्नुबाहेक सहिदसँग जोडिएर कुनै काम नभएको स्थानीयवासीको भनाइ छ । आर्थिक सहयोगभन्दा पनि रोजगारीको वातावरण, निःशुल्क स्वास्थ्य, शिक्षा, खानेपानी, सहिद परिचयपत्र आदि उपलब्ध हुनुपर्ने सहिद परिवारको माग छ । सरकारले सहिदको गाउँलाई विशेष क्षेत्रका रूपमा राख्नुपर्ने सहिद प्रतिष्ठानका अध्यक्ष रूपलाल राई बताउनु हुन्छ । बाहिरबाट देख्नेहरूलाई पनि सहिदको गाउँ विशेष रहेछ भन्ने हुन पर्नेमा प्रत्येक चुनाव र सहिद सप्ताहमा आश्वासन बाँड्ने स्थान बनेको उहाँको भनाइ छ । राई भन्नुहुन्छ, “सहिदको गाउँमा समस्या धेरै हुँदा प्रत्येक चुनावमा नेताहरूले आश्वासन बाँड्न पाएका छन् ।” सहिद परिवार मात्र नभई पालिकाका धेरै नागरिक अहिले पनि स्वास्थ्य, शिक्षा, खानेपानी, पूर्वाधारबाट टाढा रहेको उहाँको भनाइ छ । आफूहरूले प्रत्येक पटक सहिद परिवारका लागि गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको माग राख्दै आएको उहाँको भनाइ छ ।
सहिदभूमि गाउँपालिकालाई हिलेबाट जोड्ने मुख्य सडक ट्र्याक खोलेको करिब तीन दशकपछि कालोपत्रे गर्न सुरुवात गरियो तर आधा मात्र भएको छ । बाँकी सबै धुलाम्मे सडक छन् । बर्खाका पाँच महिना अधिकांश सडक चल्दैनन् । रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता छ । गाँजा खेती र व्यापार फस्टाउँदा धेरै युवा जेल बस्न बाध्य छन् । धेरै गाउँका नागरिक अहिले पनि पानीका लागि घण्टौँ टाढाका कुवा र खोलाखोल्सी धाउनुपर्ने बाध्यतामा छन् ।