ठाकुरप्रसाद आचार्य
म्याग्दी,माघ २१ गते। नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण बनाउन सरकार प्रतिवद्ध भएको बताउनुभएको छ।
निर्वाचनको तयारीका बारेमा जानकारी लिन बुधबार साँझ म्याग्दी आउनुभएका अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयमा भएको छलफलमा सो कुरा बताउनुभएको हो।
मन्त्री खनाललाई बेनीमा जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमलगायत सुरक्षा निकायका प्रमुखले स्वागत गर्नुभएको थियो।
निर्वाचन कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी गौतमले जिल्लामा हालसम्म भएको निर्वाचनको तयारीका बारेमा जानकारी गराउनुभएको थियो।
अर्थमन्त्री खनालले मुख्य निर्वाचन अधिकृत थापा, प्रमुख जिल्ला अधिकारी आचार्य, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापा, जिल्ला निर्वाचन अधिकारी गौतमलगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखसँग जिल्लाको निर्वाचनको तयारी, सुरक्षा प्रबन्धका बारेमा छलफल गर्नुभएको छ।
छलफलका क्रममा अर्थमन्त्री खनालले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्त्व सरकारको भएकाले त्यही अनुसार परिचालन हुन निर्देशन दिनुभयो। उहाँले सरकारले आगामी फागुन २१ गते नै सबै निर्वाचन क्षेत्रमा निर्वाचन गर्ने तयारी गरेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘निर्वाचनको प्रचारप्रसारमा सबै राजनीतिक दल र उम्मेदवारलाई निर्धक्क रुपमा परिचालन हुने वातावरण बनाउन लागेको छ। सरकारले कसैलाई भेदभाव गर्दैन। हिमाली जिल्लामा पनि तोकिएकै मितिमा निर्वाचन हुन्छ। हिमपातले निर्वाचन गराउन नसक्ने अवस्था आएमा उहीबेला नै सरकार र आयोगले उचित निर्णय गर्ने छ।’’

छलफलका क्रममा अर्थमन्त्री खनाललले निर्वाचन सभ्य, भव्य, निष्पक्ष, भयरहित ढङ्गले सम्पन्न गर्न सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो। उहाँले जिल्लामा सर्वपक्षीय, सर्वदलीय बैठक, छलफल, समन्वय र सहकार्यलाई जारी राख्न निर्देशन समेत दिनुभयो।
अर्थमन्त्री खनालले निर्वाचनका लागि आवश्यक पर्ने बजेटको अवस्था, मतदाता शिक्षा कार्यक्रम, निर्वाचन सामग्री लगायतका बारेमा जानकारी लिनुभएको छ।
निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिका अनुसारका सबै चरण जिल्लामा शान्तिपूर्ण रुपमा पूरा भइसकेको निर्वाचन अधिकारी गौतमले जानकारी गराउनुभएको थियो। उहाँले निर्वाचन आचारसहिंताको पालना भए नभएको नियमित रुपमा अनुगमन भएको बताउनुभयो।