चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २१ गते । निर्माणको काममा ढिलाई गर्दा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ खण्डअन्तर्गत मेची राजमार्ग एक महिना अघिदेखि अवरुद्ध बनेको छ । फुङ्लिङ बजारको पराजुली चौक–बुद्धचौक खण्डअन्तर्गत भत्किएको ठाउँमा सुरु गरिएको निर्माणको काम ढिलाइ गर्दा राजमार्ग अवरुद्ध बनेको हो ।
राजमार्गको उक्त सडक खण्डमा भत्किएको ठाउँमा गत पुस दोस्रो सातायता निर्माणको काम सुरु गरिएको हो । निर्माणको काम सुरु भएदेखि नै राजमार्गको सो खण्ड अवरुद्ध बनेको छ । निर्माण कार्यका कारण सडक अर्थात राजमार्ग अवरुद्ध बनेपछि यातायातका साधन चल्न नपाउँदा यात्रु तथा सेवाग्राहीले यातायात सेवाबाट बञ्चित हुनुपरेको छ ।
यात्रु तथा मालबाहक साथै दुई पाङ्ग्रे मोटरसाइलक, तीन पाङ्ग्रे टेम्पो अटोसहितका अन्य सवारी साधन चल्न नपाउँदा यात्रुले सास्ती खेप्नुपरेको छ । सदरमुकाम फुङ्लिङ बजारदेखि मेची राजमार्ग हुँदै जिल्लाको माथिल्लो भेगतर्फ सञ्चालन हुने सवारी साधन चल्न पाएका छैनन् । विषेशगरी पाथीभरा दर्शनमा आउजाउ गर्ने तीर्थयात्री र अन्य यात्रुले यात्रा गर्ने अधिक सवारी साधन सञ्चालन हुने सडक खण्ड अवरुद्ध हुँदा यात्रुले हैरानी खेप्नुपरेको छ ।
राजमार्ग अवरुद्ध हुँदा पाथीभराका दर्शनार्थीसँगै ताप्लेजुङको भ्रमणमा आउने पर्यटक तथा नयाँ आगन्तुकले धेरै सास्ती खेप्दै आएका छन् । फुङ्लिङ बजार प्रवेश गरेपछि करिव एक किलोमिटर दुरीभित्र सवारी साधन लिएर जानुपर्ने र निर्माणको काम हुँदै गरेको पराजुली चौकदेखि वैकल्पिक मार्ग रहेको तोक्मेडाँडासम्म फर्कनुपर्ने अवस्थाले सवारी चालक तथा यात्रुलाई बढी हैरानी भएको छ ।
त्यस्तै हाल वैकल्पिक मार्गका रुपमा प्रयोग गरिँदै आएको तोक्मेडाँडा–हटिया क्षेत्र हुँदै बुद्धचौक नजिक मेची राजमार्ग जोड्ने सडक पनि कच्ची र खाल्डाखुल्डी भएका कारण सवारी साधन चलाउनमा असहजता हुँदा चालक तथा यात्रुलाई सास्ती छ । त्यस्तै वैकल्पिक सडक खण्डअन्तर्गत रहेका बस्तीका नागरिक तथा पैदल यात्रा गर्नेलाई धुलो, सवारी चाप र हर्नलगायत प्रदूषणले असर पुर्याएको छ।
यता पराजुली चौक, बुद्धचौक सहितका क्षेत्रमा रहेका होटल र अन्य व्यवसायलाई पनि असर पुगेको स्थानीय बताउँछन् । मेची राजमार्गकै क्याम्पस लाइनस्थित होटल प्यारिजका सञ्चालक एवं पर्यटन व्यवसायी कैलास बानियाँ महिनौ दिनदेखि राजमार्ग अवरुद्ध हुँदा होटल व्यवसायमा नराम्ररी असर पुगेको बताउनुहुन्छ ।
लामो समयसम्म राजमार्ग अवरुद्ध हुदाँ यात्रु तथा पर्यटकहरुलाई सास्ती भएको र बुद्धचौक माथिका होटल व्यवसायलाई बढी असर परेको व्यवसायी बानियाँले बताउनुभयो । राजमार्ग नै लामो समयसम्म अवरुद्ध हुनेगरी निर्माणको काम गर्नु न्यायोचित नभए पनि नियमक निकाय मुकदर्शक भई दिँदा यात्रु, पर्यटक र व्यवसायीले मार्का खेप्नुपरेको उहाँले गुनासो गर्नुभयो ।
फुङ्लिङ बजारका स्थानीय इन्द्रबहादुर गुरुङले पनि लामो समयसम्म राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नु परेको बताउनुभयो । यात्रुको सास्तीसँगै बजारभित्र प्रवेश गरेको बाहिरबाट आएका सवारी साधन सडक बन्दै गरेको ठाउँ पुगेर तत्काल फर्कनुपर्ने अवस्थाले सवारी साधनको चाप बढ्दा दुर्घटनाको जोखिम पनि बढेको गुरुङको भनाइ छ । उता सडक निर्माणको काममा के कारणले ढिलाइ भइरहेको छ भन्ने विषय थाहा नभएको स्थानीय बताउँछन् ।
राजमार्ग निर्माणको काम गरिरहेको आरक्युप निर्माण सेवा प्रालिले भने निर्माण सामग्रीका कारण काममा केही ढिलाई भएको जनाएको छ । निर्माण कम्पनीका प्रतिनिधि सुशील पौडेलका अनुसार काम सुरु भएपछि मेची राजमार्गकै काबेली–दोखु ल्याङ्बा खण्डमा चट्टान फुटाउने र सडक फराकिलो पार्ने काम सुरु गरिएकाले सडक अवरुद्ध हुँदा निर्माण सामग्री ढुवानी गर्नलाई समस्या भएको थियो ।
राजमार्गको काबेली ल्याङ्बा खण्ड खुल्ने बित्तिकै गिटी, बालुवासहितका निर्माण सामग्री आयात गरी निर्माणको कामलाई तीब्रता दिँदै अएको कम्पनीका प्रतिनिधि पौडेलले बताउनुभयो । निर्माण हुँदै आएको सडक खण्ड साँघुरो भएकाले एकतर्फ काम गर्ने र अर्को खुला राख्ने अवस्था पनि नभएकाले सडक अवरुद्ध हुन पुगेको उहाँले बताउनुभयो ।
आवश्कता भन्दा बढी नै जनशक्ति प्रयोग गरेर कामलाई तीब्रता दिइरहेको र सडक निर्माणको काम अन्तिम चरणमा पुगेको पनि उहाँले बताउनुभयो । सडक डिभिजन इलामका सुपरभाइजर नवीन उप्रेतीले निर्माणस्थलमै खटेर काम छिटो सकाउनका लागि निरन्तर निगरानी गर्दै आएको बताउनुभयो । राजमार्ग अवस्द्ध भएर सवारी साधन नचल्नु र यात्रुसहितका सेवाग्राहीले सास्ती पाउनु दुःखद भएको उप्रेती बताउनुहुन्छ ।
मेची राजमार्गको पराजुलीचौक–बुद्धचौक खण्डमा यातायात सञ्चालनमा असहज हुनेगरी भत्किएको करिव २० मिटर सडक निर्माण गरिँदै आएको छ । पहिले कालोपत्रे गरिएको सडक भत्किएको र सो ठाउँमा अहिले रड, सिमेन्ट र गिटीको प्रयोग गरी सडक ढलान गरेर निर्माण गरिँदै आएको छ । झापाको चारआलीदेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङ जोड्ने सडक मेची राजमार्गमा पर्दछ ।