विकास अधिकारी
पश्चिम नवलपरासी, माघ २१ गते । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएको छ । जिल्लामा पहिलो पटक यो सेवा सुरु भएपछि इन्डोस्कोपीका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
सङ्घीय सरकारले झन्डै ३० लाख पर्ने उपकरण उपलब्ध गराएपछि अस्पतालले सेवा विस्तार गरेको अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीले जानकारी दिनुभयो । “जिल्लाभित्र कहीँ पनि सेवा नहुँदा हालसम्म बिरामीलाई बुटवल भैरहवा जानुपर्ने बाध्यता थियो, त्यो बाध्यता अब अन्त्य भएको छ” चौधरीले भन्नुभयो ।
युजिआई इन्डोस्कोपीमार्फत एक्सरेबाट पत्ता लाग्न नसकेका पेट, आन्द्रा तथा घाँटीमा देखिने समस्याको पहिचान गर्ने गरिन्छ । इन्डोस्कोपी गर्दा शरीरमा पातलो नली राखेर शरीरभित्रका अङ्गमा परेको असरलाई क्यामेराको माध्यमबाट मोनिटरमा हेरेर बिरामीको समस्या पहिचान गर्न सजिलो हुने अस्पतालका जनरल सर्जन डाक्टर किरण पाण्डेले बताउनुभयो ।
पृथ्वीचन्द्र अस्पतालमा पछिल्लो समय मिर्गौलाको डाइलाइसिस सेवा पनि सुरु भएको छ । सेवाप्रवाहलाई प्रभावकारी बनाउँदै विशेषज्ञ सेवा वृद्धि गर्ने प्रयासमा माथिल्लो तहका सरकारसँग पहल भइरहेको अस्पतालले जनाएको छ ।