• २१ माघ २०८२, बुधबार

२६ औँ बुढासुब्बा गोल्डकपको तयारी पूरा

blog

निशा राई 

धरान, माघ २१ गते । २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ ।

 माघ २२ गते देखि धरान १६ स्थित रङ्गशालामा सुरु हुने गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलन गर्दै क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो ।  

अटिजमबारे सचेतना जगाउनका लागि र अटिजम भएका बच्चाहरूलाई माया गरौं भन्ने सन्देश दिनका लागि उद्घाटन खेलअघि दुबै टिमका खेलाडीहरू मैदान प्रवेश गर्दा अटिजम भएका बच्चाहरूलाई साथमा लिएर प्रवेश गर्ने अध्यक्ष तामाङले जानकारी दिनुभयो । 

उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र जर्जियन क्लब भारतबिच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा न्यूरोड टिम(एनआरटी), चर्च ब्वाइज युनाइटेड क्लब, सातदोबाटो युथग क्लब, नेपाल पुलिस क्लब, पोखराको लालीगुराँस एसाेसिएसन, झापा ११, जर्जियन क्लब भारत, रोयल थिम्पु भुटान र आयोजक धरान फुटबल क्लब गरी १० वटा टिम सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमले उपाधि ट्रफीसहित नगद १० लाख र उपविजेताले ५ लाख पाउने छ । फाइनल खेल्ने दुई टिमबाट उत्कृष्ट खेलाडी छनाेट गरेर सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउने पनि आयोजकले जनाएको छ । प्रतियोगिताको प्रिक्वार्टर खेलहरूको टिकट दर सय रुपियाँ, सेमीफाइनलको २ सय र फाइनलको ४ सय रुपियाँ रहेको छ । 

विद्यार्थीलाई प्रिक्वार्टरको ५० र सेमीफाइनलको सय रुपियाँ टिकट लाग्ने छ भने फाइनलमा छुट नदिइने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा गुरुङ बिबिक्युका सञ्चालकले आयोजक क्लबका प्रशिक्षकहरूलाई ट्रयाक सुट वितरण गर्नुभएको थियो ।