• २१ माघ २०८२, बुधबार

उम्मेदवार भेटिन थाले घरदैलोमा

blog

मतदातासँग मत माग्दै उम्मेदवार ।

म्याग्दी समाचारदाता

म्याग्दी, माघ २१ गते । फागुन २१ गते हुने आमनिर्वाचनमा होमिएका उम्मेदवारले आफ्नो पक्षमा मत पार्नका लागि मतदाताको घरदैलोमा पुगेर आफ्ना योजना र प्रतिबद्धता व्यक्त गर्न थालेका छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दी जिल्लामा १२ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । मुख्य रूपमा नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) प्रतिस्पर्धी देखिएको यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार महावीर पुन कडा प्रतिस्पर्धामा उत्रिएका छन् । 

माघ ६ गते भएको उम्मेदवारी दर्तामा नवीन जिसी र महावीर पुन स्वतन्त्रसहित ११ दल गरेर १३ जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । पछि नवीन जिसीले उम्मेदवारी फिर्ता लिएपछि अहिले एक स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

राष्ट्रिय जनमोर्चाका छेमबहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोका, श्रम संस्कृति पार्टीबाट विनोद राना, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे, नेकपा (एमाले) बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीबाट अर्जुनबहादुर थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामीले उम्मेदवारी दिनुभएको छ । त्यसै गरी नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्भरबहादुर सुवेदी, नेसनल रिपब्लिकन पार्टीबाट तुलप्रसाद गर्बुजा र मङ्गोल नेसनल अर्गनाइजेसनबाट भीमबहादुर लामा र स्वतन्त्र उम्मेदवार महावीर पुन रहनुभएको छ ।

चुनावी मैदानमा १२ जना रहेको भए पनि जिल्लामा चर्चा भने चार जनाको बढी सुनिन थालेको छ । नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापा, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी, एमालेका हरिकृष्ण श्रेष्ठ र स्वतन्त्र उम्मेदवार महावीर पुन अहिले यहाँको मतदाताका बिचमा धेरै चर्चा पाउने उम्मेदवार भएको कुरा स्थानीयले बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका निर्वाचन परिचालन समितिका संयोजक रेशमबहादुर जुगजालीले आफ्नो पार्टी निर्वाचनलक्षित कार्यक्रममा व्यस्त रहेको बताउनुभयो । उम्मेदवारसहितको टोलीले पोखरामा बसोबास गर्ने म्याग्देलीसँग भेटघाट पनि उहाँले जानकारी दिनुभयो । 

नेपाली कांग्रेसको निर्वाचन परिचालन समितिका संयोजक रेशमबहादुर बानियाँले आफ्नो पार्टीले मतदातासमक्ष नयाँ अनुहार कर्णबहादुर भण्डारीलाई उम्मेदवार बनाएर चुनावमा होमिएको बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिताभित्र रहेरै पार्टीले प्रचारप्रसारका काम सञ्चालन गर्ने बताउनुभयो । कांग्रेस म्याग्दीले पूर्वसभापति रेसम बानियाँको संयोजकत्वमा निर्वाचनका लागि मूल समिति बनाएको छ । पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रदेश सदस्य रहेको २१ सदस्यीय मूल समिति गठन गरिएको जानकारी दिनुभयो । समिति अन्तर्गत रहने गरी जिल्ला निर्वाचन प्रचारप्रसार समिति, युवा परिचालन समिति, महिला परिचालन समिति, दलित परिचालन समिति, नवयुवा परिचालन समिति पनि कांग्रेसले गठन गरेको बानियाँको भनाइ छ । 

पालिकस्तरीय भेटघाट र प्रचारप्रसार सुरु गरेर बेनी नगरपालिका, रघुगङ्गा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा भेटघाट कार्यक्रम सम्पन्न भइसकेको कांग्रेसले जनाएको छ । फागुन ४ गते देखि पाइने प्रचारप्रसारभन्दा पहिला सबै वडामा मतदता भेटघाट सक्ने कांग्रेसका उम्मेदवार भण्डारीको भनाइ छ ।

यसैबिच एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । संयोजक सुवेदीका अनुसार पालिकास्तरीय निर्वाचन परिचालन कमिटी गठन, वडा परिचालन गठन, युवा परिचालन, आर्थिक व्यवस्थापन, सचिवालय व्यवस्थापन, स्वयंसेवक परिचालन तथा प्रतिबद्धतापत्र लेखन समिति गठन गरेर आफ्नो जिम्मेवारीमा खटेका छन् । एमालेले घरदैलो अभियानलाई सबै ठाउँमा सञ्चालन गरेको उहाँको भनाइ छ । उम्मेदवारसहितको टोलीले पोखरामा भेटघाट सकेको छ भने बेनी नगरपालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकामा पनि भेटघाट अभियान सम्पन्न भइसकेका छन् । फागुन ४ पछि अन्य राजनीतिक दलसँग कार्यक्रम नजुध्ने गरी समन्वय गरेर प्रचार अभियानमा जाने एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

२०७९ को निर्वाचनमा कांग्रेस, माओवादी, नेकपा समाजवादीसहितको गठबन्धनबाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा विजयी हुनुभएको थियो । २०७४ सालको निर्वाचनमा एमाले र तत्कालीन नेकपा माओवादीबिच एकताको प्रयास हुँदै गर्दा एमालेका भूपेन्द्रबहादुर थापा विजयी हुनुभएको म्याग्दीमा २०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा एमालेका नवराज शर्मा विजयी हुनुभएको थियो । २०६४ सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा माओवादीका गोविन्द पौडेल विजयी हुनुभएको थियो ।

त्यसै गरी २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसका नारायणसिंह पुन, २०५१ को मध्यावधि निर्वाचनमा एमालेबाट नीलबहादुर तिलिजा विजयी हुनुभएको थियो । त्यसअगाडि २०४८ सालमा भएको निर्वाचनमा म्याग्दीमा दुई वटा निर्वाचन क्षेत्र थिए र त्यसमा चन्द्रप्रकाश बानियाँ र थममाया थापाले एमालेबाटै जित हासिल गर्नुभएका थियो । म्याग्दीमा निर्वाचनका लागि कुल ८६ हजार ३९७ मतदाता रहेका छन् । 

एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधि सभामा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदान स्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।