बबई समाचारदाता
बबई (बर्दिया), माघ २१ गते । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बर्दिया जिल्लामा रहेका संवेदनशील मतदान केन्द्रको अनुगमन सुरु गरिएको छ । शान्तिसुरक्षा र निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने उद्देश्यका साथ प्रशासनले संयुक्त रूपमा अनुगमन थालेको हो ।
जिल्ला प्रशासन कार्यालय बर्दिया, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय नं. ३१ गण तथा निर्वाचन कार्यालय बर्दियाको संयुक्त टोलीले संवेदनशील मतदान केन्द्रको स्थलगत अनुगमन गरिरहेको छ ।
दुई निर्वाचन क्षेत्र रहेको बर्दिया जिल्लामा विगतका निर्वाचनका अनुभव र शान्तिसुरक्षाको अवस्थालाई हेरेर निर्वाचन क्षेत्र नम्बर १ मा २४ वटा र निर्वाचन क्षेत्र नम्बर २ मा १५ वटा गरी कुल ३९ मतदान केन्द्रलाई संवेदनशीलको सूचीमा राखिएको छ । निर्वाचन कार्यालय बर्दियाका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा ७५ मतदान स्थल अन्तर्गत १९९ मतदान केन्द्र रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा १८८ मतदान स्थल रहेका छन् । यसरी जिल्लाभर कुल ३८७ मतदान स्थल रहेका छन् ।
आसन्न निर्वाचनमा बर्दिया जिल्लामा कुल तीन लाख २३ हजार २६६ मतदाता रहेका छन् । तीमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ६८ हजार र निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख ५५ हजार २३२ मतदाता छन् । २०७९ सालको निर्वाचनमा जिल्लामा तीन लाख ११ हजार ४१० मतदाता रहेका थिए ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले संवेदनशील मतदान केन्द्रको स्थलगत अनुगमनका क्रममा सुरक्षा व्यवस्थापन, भौतिक पूर्वाधार तथा सम्भावित चुनौतीका विषयमा छलफल गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार विगतका निर्वाचनका अनुभवका आधारमा मतदान केन्द्रको वर्गीकरण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले अनुगमनपछि प्राप्त सूचनाका आधारमा प्रत्येक मतदान केन्द्रका लागि आवश्यक सुरक्षा रणनीति तयार गरिने बताउनुभयो ।
जिल्लामा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न एक हजार ८२२ जना नेपाल प्रहरी, ७५५ जना सशस्त्र प्रहरी, ३५० जना नेपाली सेना र दुई हजार २५ जना निर्वाचन सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । यस अनुसार कुल चार हजार ९५२ जना सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटाइने छन् ।