कमल शर्मा
दैलेख, माघ २१ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन दैलेख निर्वाचन क्षेत्र नं. २ मा चार राजनीतिक धारबिचको रोचक र कडा प्रतिस्पर्धा हुने देखिएको छ । विगतका निर्वाचनको परिणाम, दलको रणनीति र उम्मेदवारको राजनीतिक पृष्ठभूमिले यस क्षेत्रलाई चासोको केन्द्र बनाएको छ ।
नेकपा (एमाले) यस निर्वाचनमा हारेको सिट फर्काउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको छ । २०६४ सालदेखि लगातार तीन वटा निर्वाचन जितेको एमाले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनसँग ८० मतको मतान्तरले पराजित भएको थियो । एमालेका उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल संविधान सभा सदस्य भइसकेका अनुभवी नेता हुनुहुन्छ । पार्टीले विगतमा प्राप्त गरेको जनमत र सङ्गठनात्मक आधारलाई पुनः एकताबद्ध गर्न सके आफ्नो राजनीतिक विरासत फर्किने विश्वास लिएको छ । पोखरेलले अघिल्ला निर्वाचनमा प्राप्त मतका आधारमा यस पटक जित सुनिश्चित हुने दाबी गर्नुभएको छ । नेपाली कांग्रेस भने यस निर्वाचनमा आफ्नो विरासत जोगाउने दाउमा देखिएको छ । २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीसँगको गठबन्धनको सहयोगमा विजयी बनेको कांग्रेसले यस पटक पनि सोही सफलता दोहो¥याउने लक्ष्य लिएको छ । कांग्रेसले अघिल्लो निर्वाचनमा विजयी भएका केन्द्रीय सदस्य दिक्पालकुमार शाहीलाई पुनः उम्मेदवार बनाएको छ । शाहीले निर्वाचन क्षेत्र नं. २ को दुल्लु क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवारीका कारण एमालेको मत विभाजित हुने र त्यसले कांग्रेसलाई फाइदा पुग्ने दाबी गर्नुभएको छ ।
नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने यस निर्वाचनलाई ह्याट्रिक गर्ने अवसरका रूपमा लिएका छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार योगेन्द्रबहादुर शाही पूर्वएमाले नेता हुनुहुन्थ्यो । २०७९ सालको प्रदेश सभा निर्वाचनमा एमालले टिकट नदिएपछि माओवादी केन्द्रमा प्रवेश गरी उम्मेदवार बनेर पराजित हुनुभएको थियो । पराजित हुनुभएका शाही कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनुभएको थियो । कांग्रेस र एमालेको मत रास्वपाले काट्ने सम्भावनालाई आफ्नो पक्षमा उपयोग गर्दै नेपाली कम्युनिस्ट पार्टी पहिलो पटक यस क्षेत्रमा विजयी हुने रणनीतिमा देखिएको छ ।
रास्वपाका उम्मेदवार बखतबहादुर शाही नयाँ राजनीतिक शक्तिको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । पुराना दलप्रतिको असन्तुष्टि र परिवर्तनको चाहनालाई मतमा रूपान्तरण गर्न सकिने विश्वास रास्वपाले लिएको छ । यसरी दैलेख निर्वाचन क्षेत्र नं. २ मा कांग्रेसको विरासत जोगाउने प्रयास, एमालेको पुनरागमनको चाहना र नेपाली कम्युनिस्ट पार्टी तथा रास्वपाको नयाँ इतिहास रच्ने कसरतबिच बहुकोणीय र कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।