• २१ माघ २०८२, बुधबार

पर्यवेक्षकको पनि निगरानी गर्न सुझाव

blog

सुर्खेतमा आयोजना गरिएको लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक कार्यक्रम । तस्बिर: ललित बसेल

सुर्खेत समाचारदाता 

सुर्खेत, माघ २१ गते । यस पटकको निर्वाचनमा पर्यवेक्षकलाई पनि निगरानी गर्न राजनीतिक दलले सुझाव दिएका छन् । ज्येष्ठ नागरिक तथा अशक्तलाई सहयोग गर्ने नाममा कार्यकर्ता ओसार्ने गरिएको हुँदा यस पटकको निर्वाचनमा पर्यवेक्षकलाई पनि निगरानी गर्नुपर्ने जनाइएको हो । 

इन्सेक कर्णाली प्रदेशले मङ्गलबार आयोजना गरेको लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले यस पटक पर्यवेक्षकलाई पनि निगरानी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले पर्यवेक्षकका नाममा कार्यकर्ता ओसार्ने विगतमा भएको हुँदा यस पटक उनीलाई पनि निगरानी गर्नुपर्ने उल्लेख गर्नुभयो । यस्तै निर्वाचनको मौन अवधिमा सबैभन्दा बढी चलखेल हुने हुँदा त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न उहाँले सुझाव दिनुभयो । साथै निर्वाचन आचारसंहितालाई पूर्ण पालना गर्न कार्यकर्तालाई निर्देशन दिइसकेको उहाँको भनाइ छ । 

नेपाली कम्युनिस्ट पार्टीका इन्चार्ज केदार कँडेलले मतदाता र उम्मेदवारको सुरक्षामा ख्याल गर्न आग्रह गर्नुभयो । उहाँले अझै पनि मतदातालाई दबाब र प्रभाव पार्ने गतिविधि भइरहने हुँदा त्यस्ता गतिविधि रोक्नुपर्नेमा जोड दिनुभयो । मप विश्वविद्यालयका प्राध्यापक वेदप्रसाद ढकालले भदौ २४ पछि कैदीबन्दी फरार भएका र हतियार पनि गायब भएको हुँदा निर्वाचनमा असुरक्षा हुने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो । भ्रमपूर्ण सूचना राखेर सामाजिक सञ्जालको दुरुपयोग बढ्ने क्रम पनि भएको हुँदा त्यसलाई छिटो नियन्त्रण गर्नुपर्ने उहाँको माग छ । नियोकका पर्यवेक्षक विन्दुलाल रेग्मीले बदर मत कम गराउन मतदाता शिक्षा सञ्चालन गर्न सुझाव दिनुभयो । 

सुर्खेतका प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले सबैले आचारसंहिता पालना गरेमा निर्वाचन सफल हुने बताउनुभयो । उहाँले सुर्खेतमा एक हजार ८४० निर्वाचन प्रहरी भर्ना गरी प्रशिक्षण दिन थालिएको जानकारी दिँदै मौन अवधिमा संवेदनशील बन्न र आचारसंहिता पालनाको कामलाई प्रभावकारी बनाउन प्रहरी क्रियाशील रहेको उल्लेख गर्नुभयो । 

राष्ट्रिय मानव अधिकार आयोग सुर्खेतका मानव अधिकार अधिकृत राजेन्द्र  न्यौपानेले यस पटक निर्वाचन पर्यवेक्षकलाई पनि निगरानी गर्ने तयारी गरिएको बताउनुभयो । 

निर्वाचनलाई धाँधलीरहित, बढी सहभागी बनाउने मुख्य दायित्व दलकै भएको हुँदा आचारसंहिता पालना गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ । सहायक प्रमुख जिल्ला अधिकारी तथा आचारसंहिता अनुगमन समितिका सहसंयोजक डिलबहादुर कार्कीले अहिलेसम्म सुर्खेतमा आचारसंहिता उल्लङ्घन भएको लिखित उजुरी नपरेको बताउनुभयो । उहाँका अनुसार लिखित रूपमा उजुरी नआएको हुँदा आचारसंहिता पालना गर्न मौखिक रूपमा भए पनि सुझाव दिने गरिएको छ ।