• २१ माघ २०८२, बुधबार

सर्लाहीमा कार दुर्घटना : एकको मृत्यु, तीन घाइते

blog

दुर्घटनाग्रस्त कार । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, माघ २१ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका –१२, बाँके जङ्गलमा बुधबार बिहानपख कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । बाँके जङ्गलको तेस्रो लच्कामा काँकडभिट्टाबाट बुटवलतर्फ जाँदै गरेको लु ३ च ५४७२ नम्वरको कार बाँके जङ्गलको तेस्रो लच्कामा पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा डाइभर्सन बनाएको ठाउँमा दुर्घटनामा परेको हो । 

प्रहरीका अनुसार दुर्घटना हुँदा कारमा सवार रुपन्देहीको बुटवल उपमहानगरपालिका–१, बस्ने २७ वर्षीय शुभम जैसवालको मृत्यु भएको हो । हात, खुट्टा र छातीमा चोट लागेर गम्भीर घाइते शुभमको उपचारका क्रममा आज बिहान शुभस्वस्तिक अस्पताल बर्दिवासमा मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ । 

दुर्घटनामा कार चालक बुटवल उपमहानगरपालिका –१ कै २३ वर्षीय साहिल बर्मा, कारमा सवार ४८ वर्षीय बृजकिशोर बर्मा र ५२ वर्षीय सन्जय जैसवाल घाइते हुनुभएको छ । उहाँहरुको शुभस्वस्तिक अस्पतालमै उपचार भइरहेको केशरगन्जका प्रहरी निरीक्षक नितेशकुमार सिंहले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । 

प्रहरीका अनुसार बुधबार बिहान २ बजेतिर कार अनियन्त्रित भएर दुर्घटनामा परेको हो । बाँके जङ्गलको लच्कामा कलभर्ट निर्माण गर्न छेउबाट डाइभर्सन निर्माण गरिएको थियो ।

सोही डाइभर्सनबाट खसेको कार निर्माणाधीन कलभर्टको पिलरमा गएर बजारिएको थियो । दुर्घटनामा परेको कार घटनास्थलमै रहेको छ । क्रेनको सहायतामा कार निकाल्ने प्रयास भइरहेको केशरगन्जका इन्स्पेक्टर सिंहले बताउनुभयो । 

अहिले पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा जिल्लाको दर्जनौँ स्थानमा डाइभर्सन निर्माण गरेर धमाधम काम भइरहेकाले पूर्वपश्चिम राजमार्गमा सवारी साधन सञ्चालन गर्दा सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले आग्रह गरेको छ ।