• २१ माघ २०८२, बुधबार

देउराली जनता फर्मास्युटिकल्सले चितवनमा बेग्लै कारखाना खोल्ने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २१ गते । देउराली जनता फर्मास्युटिकल्सले चार अर्ब ७५ करोड रुपियाँको लगानीमा चितवनमा कारखाना सञ्चालनमा ल्याउने भएको छ । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष हरिभक्त शर्माले त्यस्तो कारखानामा ५५० जनालाई प्रत्यक्ष रोजगारी दिने जानकारी गराउनुभयो । 

उहाँले विगतका अनुभवको उपयोग गर्दै औषधीको गुणात्मक स्तरवृद्धि गरी राष्ट्रलाई औषधीमा आत्मनिर्भर बनाउन योगदान गर्न आफूहरू सङ्कल्पसाथ लागिपरेको बताउनुभयो । उहाँका अनुसार प्रस्तावित नयाँ कारखाना दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

अध्यक्ष शर्माले देउराली–जनता फर्मास्युटिकल्सले ३५ वर्षदेखि नेपाली जनताका लागि उच्च प्रविधि आयात गरी अत्यावश्यक औषधी स्वदेशमै उत्पादन गरी स्वास्थ्यसेवामा समर्पित रहँदै आएको उल्लेख गर्नुभयो । 

उहाँले कम्पनीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै अत्यावश्यक जीवनरक्षक औषधी र विभिन्न दीर्घरोगको उपचारमा आवश्यक पर्ने क्याप्सुल, ट्याबलेट, लिक्युड तथा पाउडरको उत्पादन गर्ने बताउनुभयो । कम्पनीले २९६ प्रकारका जीवनरक्षक औषधी उत्पादन तथा अनुसन्धान गर्ने जानकारी दिँदै उहाँले उत्पादित औषधीको गुणस्तर कायम गर्ने तथा अत्याधुनिक प्रविधि र उपकरणसहितको सुविधा सम्पन्न कारखाना निर्माण गरी अन्तर्राष्ट्रियस्तरमा समेत निर्यात गर्ने लक्ष्य लिइएको बताउनुभयो ।  वैज्ञानिक, प्राविधिकलगायत सबै तहमा कार्यरत ६७५ जना जनशक्तिलाई हाल प्रत्यक्ष रोजगारी दिएको उहाँको भनाइ छ । कम्पनीका निर्देशक आयुशभक्त पौडेलले कम्पनीले सुस्वास्थ्य, आरोग्य, निरोग, दिव्यम, आरम्भलगायतका डिभजनको स्थापना गरी औषधी उत्पादन गर्दै आएको बताउनुभयो । देउराली जनता नेपालको औषधी उत्पादन क्षेत्रमा प्रविधि हस्तान्तरणमार्फत उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रविधि आयात गर्ने पहिलो र एक मात्र उद्योगका रूपमा स्थापित भएको बताउनुभयो ।