• २१ माघ २०८२, बुधबार

विश्व बैङ्कले चौध अर्ब सहायता दिने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २१ गते । एक लाख साना तथा मझौला व्यवसायलाई वित्तीय पहुँच बढाउन विश्व बैङ्कले नेपाललाई करिब १४ अर्ब रुपियाँ (नौ करोड ५० लाख डलर) सहायता उपलब्ध गराउने भएको छ । कार्यकारी निर्देशकको बोर्ड बैठकले यस्तो निर्णय स्वीकृत गरेको विश्व बैङ्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो सहायता दिगो र समावेशी वित्त परियोजना अन्तर्गत नेपाललाई उपलब्ध हुने छ जुन यसअघिको विश्व बैङ्कको वित्तीय क्षेत्रको स्थायित्व र वृद्धिका लागि वित्तीय क्षेत्रको विकास नीति ऋण शृङ्खलाकै रूपमा रहने उल्लेख छ । उक्त शृङ्खलाको पहिलो चरण सन् २०२४ मै पूरा भइसकेको छ ।

पछिल्लो परियोजनाले खास गरी कर्जा सूचना केन्द्रमा प्रविधि र संस्थागत क्षमता अभिवृद्धिमा पनि लगानी गर्ने छ । यो परियोजना सरकारले हालै स्वीकृत गरेको दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिसँग तादाम्य रहने पनि विज्ञप्तिमा उल्लेख छ । 

यो परियोजनाले कर्जा तथा निक्षेप सुरक्षण कोषको जोखिम वहन क्षमता बढाउने, वित्तीय स्थायित्व सुधार र महिलाले नेतृत्व गरेको व्यवसायमा नयाँ किसिम सुरक्षण योजना ल्याउन सहयोग पु¥याउने विश्व बैङ्कको नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले बताउनुभयो । 

“सहज वित्तीय पहुँच र कारोबारमा रहेको अवरोध घटाउँदै वित्तीय समावेशिता विस्तार गर्ने, साना तथा मझौला व्यवसायलाई क्षेत्री र विश्वव्यापी शृङ्खलामा एकीकृत गर्न सघाउने, रोजगारी सिर्जना अभिवृद्धि गर्ने र निजी क्षेत्रले नेतृत्व गरेको विकासमा यो परियोजनाले सहयोग पु¥याउने छ,” उहाँले भन्नुभयो । साना तथा मझौला व्यवसायलाई अपर्याप्त सुरक्षण र कर्जाको इतिहास पनि सीमित हुँदा सुलभ वित्तीय पहुँचमा अवरोध रहेको बैङ्कको दक्षिण एसिया क्षेत्रको वरिष्ठ वित्तीय क्षेत्र विज्ञ सविनराज श्रेष्ठले बताउनुभयो । 

“यो परियोजनामार्फत कर्जा तथा निक्षेप सुरक्षण कोषले व्यवस्थापन सूचना प्रणालीलाई स्तरोन्नति गर्ने, दाबी भुक्तानीको प्रभावकारिता बढाउने र जोखिममा आधारित मूल्य प्रणाली लागु गर्न सक्षम बनाउने छ,” उहाँले भन्नुभयो ।