• २१ माघ २०८२, बुधबार

पत्रकारले आफ्नो ओज घटाउन हुन्न : आचार्य

blog

कार्यक्रममा धारणा राख्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार आचार्य ।

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), माघ २० गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकारले आफ्नो ओज घटाउन नहुने बताउनुभएको छ । उहाँले निर्वाचनको समयमा पत्रकार आचारसंहिताको पूर्णरुपमा पालना गरेमा पत्रकारको गरिमा नघट्ने बताउनु भयो । 

प्रेस काउन्सिल नेपालको आयोजना र पत्रकार महासंघ बर्दियाको समन्वयमा निर्वाचन आचारसंहिता र सञ्चार माध्यमसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

निर्वाचन आचारसंहिताभित्र पत्रकारहरू पनि पर्ने हुनाले सम्पूर्ण पत्रकार र सञ्चारमाध्यमले आचारसंहिता पूर्णरुपमा पालना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईहरु राज्यको चौथो अंग हो, छुट्टै गरिमा छ, आफ्नो गरिमा नघटाउनुस् । ”

सञ्चार माध्यम मात्र नभएर पत्रकारिता गरिरहेका पत्रकारहरूले पनि सामाजिक सञ्जाल चलाउँदा आचारसंहिताको पालना गर्नुपर्ने उहाँले बताउनुभयो । प्रेस काउन्सिलले सम्पूर्ण पत्रकार र सञ्चारमाध्यमको अनुगमन र नियमन गरिरहेको उहाँको भनाइ छ । 

कार्यक्रममा बर्दियाका प्रमुख लालबहादुर मल्लले पत्रकारहरूलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गर्दै सबै पक्ष मिलेर निर्वाचनलाई सफल गराउनुपर्ने बताउनुभयो । 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बर्दियाका पत्रकारहरूले पत्रकार आचारसंहिता पूर्णरुपमा पालना गरी जनतालाई सुसुचित गराइरहेको बताउनुभयो ।