• २० माघ २०८२, मङ्गलबार

विश्वविद्यालय खेलकुदको तयारी पूरा

blog

प्रतियोगिता बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, माघ २० गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा बिहीबारदेखि धुलिखेलमा सुरु हुने तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ ।

विश्वविद्यालयमा अध्ययनरत २८ वर्ष मुनिका विद्यार्थीलाई लक्षित गरी उक्त प्रतियोगिता आयोजना गरिँदै आएको छ । काठमाडौँ विश्वविद्यालय र नेपालय इन्टरनेसनल प्रालीको सहआयोजनामा हुने विश्वविद्यालय खेलकुदमा ९ विश्वविद्यालयको सहभागिता रहने छ ।

प्रतियोगिताका लागि सहआयोजक नेपालयले प्रायोजक केआइईस एजुकेसन कन्सल्टेन्सीसँग प्रायोजन सम्बन्धी सम्झौता गरेको छ । नेपालयका चेयरमेन सुवासचन्द्र प्रधान र केआइईस एजुकेसन कन्सल्टेन्सीका संस्थापक सिइओ राजेन्द्र रिजालबीच प्रायोजन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

सो अवसरमा रिजालले देशले गौरव गर्ने क्षेत्र खेलकुदसँग सहकार्य गर्न पाउँदा धेरै उत्साहित रहेको र केआइईस एजुकेसन कन्सल्टेन्सी लामो समयदेखि नेपाली खेलकुदको विकासमा जोडिँदै आएको बताउनुभयो । 

नेपालयका चेयरमेन प्रधानले नेपाली खेलकुद विकासका लागि विश्वविद्यालय खेलकुद जस्ता प्रतियोगिता महत्वपूर्ण साबित हुने विश्वास व्यक्त गर्नुभयो । यस संस्करणमा एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, बास्केटबल र भलिबल गरी पाँच खेलमा प्रतिस्पर्धा हुनेछ । 

एथलेटिक्समा पुरुष/महिलातर्फ एक सय मिटर, दुई सय मिटर, चार सय मिटर र लङजम्प गरी चार इभेन्ट्समा खेल हुनेछ । ब्याडमिन्टन र टेबलटेनिसमा पुरुष/महिला सिंगल्स र डबल्स तथा बास्केटबलमा पुरुष/महिलाको थ्री अन थ्री फर्मेट समावेश गरिएको छ ।

भलिबलमा छात्रतर्फ मात्र खेल हुने राखेपका खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जानकारी दिनुभयो । दुई सय ७९ खेलाडीको सहभागिता निश्चित भइसकेको प्रमुख शर्माले जानकारी दिनुभयो । 

कुनै विश्वविद्यालयमा विदेशी नागरिक अध्ययन गरिरहेको छ भने पनि उनीहरुले पनि प्रतिस्पर्धा गर्न पाउने छन् । प्रतियोगितामा टिम र व्यक्तिगततर्फ स्वर्ण विजेताले समान तीन हजार रुपियाँ पुरस्कार पाउने छन् ।

प्रतियोगितामा कुल १९ स्वर्ण, १९ रजत र २७ कांस्य पदकका लागि प्रतिस्पर्धा हुने प्रचार प्रसार शाखाका प्रमुख खुशराज दाहालले बताउनुभयो । दुईदिने प्रतियोगिताका खेलहरु धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको हातामा खेलाइने छ ।