काठमाडौँ, माघ २० गते । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिगमा नव जनजागृति युवा क्लबमाथि फराकिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा जावलाखेलले नव जनजागृतिलाई ४–० गोलले हरायो । एकपक्षीय खेलमा जावलाखेललाई जिताउन हरिष भट्टले आठौँ मिनेटमा सुरुवाती गोल गर्नुभयो ।
दुई मिनेट लगत्यै क्लासोखोले पेनाल्टीमार्फत गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाउनुभयो । ४३औँ मिनेटमा युवराज ढकालले तेस्रो तथा ८६औँ मिनेटमा भर्बेन्द्र कुँवरले चौथो गोल गर्दै टोलीलाई सजिलै जिताउनुभयो ।
लिगमा जावलाखेलको यो दोस्रो जित हो । जितसँगै लिगमा पाँच खेल सकेको जावलाखेलले ६ अङ्क बनाएको छ । लगातार पाँचौँ हार खेपेको नव जन जागृतिले अङ्कको खाता खोल्न सकेको छैन ।
यस्तै एन्फा मैदान सातदोबाटोमा भएको खर्को खेलमा विभागीय टोली एपिएफ क्लब र न्युरोड टिम (एनआरटी)ले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ ।
लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ‘ए’ डिभिजनसहित मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने छ ।