• २० माघ २०८२, मङ्गलबार

देउराली जनताले भरतपुरमा नयाँ कारखाना निर्माण गर्ने

blog

देउराली जनता फर्मास्युटिकल्स प्रालि ३५औँ वार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलन ।

काठमाडौँ, माघ २० गते । देउराली जनता फर्मास्युटिकल्स प्रालिले चितवनको भरतपुरमा कारखाना निर्माण गर्ने घोषणा गरेको छ । स्थापनाको ३५औँ वार्षिकोत्सवको अवसरमा चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय मापदण्डसहितको कारखाना निर्माण गर्ने घोषणा गरेको हो ।

कम्पनीले उत्पादन क्षमता विस्तार र विविधीकरणका लागि चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय मापदण्डको नयाँ कारखाना निर्माण गर्ने देउराली फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार कम्पनीले नयाँ कारखाना निर्माणका लागि कम्पनीले ४७५ करोड रुपियाँ लगानी गर्ने र आगामी दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गरी उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । 

यो परियोजना सम्पन्न भएपछि थप ५५० जनाले प्रत्यक्ष रोजगारी पाउने उहाँको दाबी छ । हाल देउराली फर्मास्युटिकल्सले क्याप्सुल, ट्याब्लेट, लिक्विड, ओइन्टमेन्ट र ड्राइ पाउडर लगायतका २९६ प्रकारका जीवन रक्षक औषधी उत्पादन गर्दै आएको छ । देउराली जनता डल्बुएचओ जिएमपी प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो औषधी कम्पनी भएको उहाँको दाबी छ । 

उहाँका अनुसार देउराली जनता फर्मास्युटिकल्सले आइएसओ-९००१ र आइएसओ-१४००१ प्रमाणीकरण समेत प्राप्त गरिसकेको छ। कम्पनीले अन्तर्राष्ट्रिय स्तरको प्रविधि नेपालमा भित्राइ कुशल उत्पादन एवं गुणस्तर नियन्त्रण प्रक्रिया लागु गरेको उहाँको भनाइ छ ।

 उहाँले नेपाली औषधी राम्रो भएपनि उद्योगहरूको अवस्था दर्दनाक रहेको धारणा व्यक्त गर्नुभयो । कम्पनीले आफ्नो ३५औँ वार्षिकोत्सवको अवसरमा विगतका अनुभवलाई उपयोग गर्दै औषधीको गुणात्मक स्तर वृद्धि गर्ने र राष्ट्रलाई औषधीमा पूर्ण आत्मनिर्भर बनाउन योगदान गर्ने सङ्कल्प लिएको छ । 

सोही अवसरमा उहाँ कम्पनीले आगामी दिनमा जनस्वास्थ्यको क्षेत्रमा अझ प्रभावकारी, नवीन प्रविधि र उच्च गुणस्तरका उत्पादन मार्फत व्यावसायिक सेवालाई निरन्तरता दिने प्रतिबद्धता गर्नुभयो ।