• २० माघ २०८२, मङ्गलबार

झापा-५ मा तालमेलको हल्ला मात्रै

blog

झापा क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपा उम्मेदवार बालेन्द्र साह ।

विष्णुप्रसाद पोखरेल 

दमक, माघ २१ गते । झापा क्षेत्र नं. ५ अहिले सबैको ध्यान केन्द्रित भएको निर्वाचन क्षेत्रका रूपमा रहेको छ । यसभन्दा अघि तालमेल तथा गठबन्धनबाट प्रतिनिधि सभा निर्वाचनमा यहाँ उम्मेदवार बन्ने गरिएको भए तापनि यो पटक कसैको कोहीसँग तालमेल तथा गठबन्धन छैन ।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ र ३ मा लागु हुने गरी नेकपा (एमाले) र राप्रपाबिच तालमेल रहेको थियो । यो क्षेत्रमा तत्कालीन अवस्थामा सत्ता गठबन्धनका रूपमा नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रबिच तालमेल रहेको थियो ।

निर्वाचन नजिकिँदै जाँदा शीर्ष नेताहरूबिच तालमेल हुने हल्लाका कारण मतदाता अन्योलमा रहेका छन् । तर स्थानीय राजनीतिक दल तथा केन्द्रीय नेताहरूले समेत तालमेल नभएको र हुन सक्ने सम्भावना कम रहेको बताउँदै आएका छन् ।

मतदातामाझ गइरहँदा तालमेलको विषयमा मतदाताले प्रश्न गर्न थालेको उम्मेदवारले पनि बताउन थालेका छन् । नेकपा (एमाले) का नेता एवं झापा क्षेत्र नं. ५ निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले अहिले एमाले एक्लै चुनावी मैदानमा रहेको बताउनुभएको छ ।

“अहिलेसम्म स्थानीय स्तरमा कसैले चुनावी तालमेल भइसकेको अवस्था छैन,” उहाँले भन्नुभयो । यहाँ पार्टी कमजोर भयो भनेर हल्ला फैलाउने र तालमेलमा लागे भनेर भ्रम छर्ने काम भइरहेको पनि उहाँको भनाइ छ । “हामी बलियो अवस्थामा छौँ र अहिलेसम्म तालमेलको कुरा कतैबाट निश्चित भएको छैन,” उहाँले भन्नुभयो ।

नेकपा उम्मेदवार रञ्जित तामाङले निर्वाचनमा तालमेलको विषय बेमौसमी बाजा भएको बताउनुभयो । अहिले यो सम्भावना नदेखेको बताउनुभयो । “हामी निर्वाचनमा होमिएका छौँ र जनताको घरदैलोमा पुगिसकेका छौँ,” उहाँले भन्नुभयो । अनावश्यक रूपमा हल्ला फैलाइएको उहाँको भनाइ छ ।

राप्रपाका उम्मेदवार लक्ष्मीप्रसाद सङ्ग्रौलाले झापा–५ मा एमालेसँग तालमेल भयो भनेर हल्ला फिँजिएको भए पनि यसमा सत्यता नरहेको बताउनुभयो । अहिले आफूहरू निर्वाचन अभियानमा केन्द्रित रहेर मतदातासम्म मत मागिरहेको उहाँको भनाइ छ । “यो पटक तालमेल छैन र समर्थक निराश हुनुपर्ने आवश्यक छैन,” उहाँले भन्नुभयो ।

यो क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको प्रतिस्पर्धालाई लिएर अहिले चर्चामा छ ।