• २० माघ २०८२, मङ्गलबार

टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

blog

भारतमा अभ्यास गर्दै नेपाली टोली । तस्बिर : क्यान

काठमाडौँ, माघ २० गते । आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले आज अभ्यास खेलमा संयुक्त अरव इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ ।

चेन्नईस्थित एमए चिदाबरम मैदानमा साँझ ५:१५ बजे सुरु हुने खेलमा नेपाल युएईलाई हराउँदै उच्च मनोबल बनाउने तयारीमा छ । नेपालले अभ्यासको दोस्रो तथा अन्तिम खेल बिहीबार क्यानाडासँग खेल्ने छ । 

यसअघि नेपालले भारतको मुम्बईमा एमसिए प्रेसिडेन्ट–११ सँग दुई वटा अभ्यास खेल खेलेको थियो । त्यसअघि नेपालले श्रीलङ्कामा श्रीलङ्का ‘ए’ टोलीसँग अभ्यास खेल खेलेर भारत गएको हो । 

नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ । पहिलो पटक सन् २०१४ मा विश्वकप खेलेको नेपालले सन् २०२४ को अघिल्लो संस्करण पनि खेलेको थियो । 

भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपमा २० देशबिच प्रतिस्पर्धा हुँदैछ । सहभागी देश (टोली) लाई चार समूहमा विभाजन गरिएको छ ।

जसमा नेपाल समूह ‘सी’ मा परेको छ । यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेको छ । नेपालले फेब्रुअरी ८ तारिख इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्ने छ । समूह चरणका नेपालको सबै खेल मुम्बईमा हुने छ । 

समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेको छ । यस्तै ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानाडा र युएई रहेको छ । 

समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्ने छन् । सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिने छ । त्यसपछि समूहको शीर्ष दुई टोली सेमिफाइनमा पुग्ने छन् । सेमिफाइनल विजेताबिच उपाधिका लागि प्रतिस्पर्धा हुने छ ।