• २० माघ २०८२, मङ्गलबार

निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री सुशीला कार्की।

बोमलाल गिरी 

नवलपुर, माघ २० गते । प्रधानमन्त्री सुशीला कार्कीले अब निर्वाचन सर्ने सम्भावना अन्त्य भएको बताउनुभएको छ । सरकारको पूरा ध्यान फागुन २१ गते निर्वाचन सम्पन्न गर्नेतर्फ रहेको र सोही अनुसार तयारी भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

अत्यधिक चिसोका कारण हिमाली जिल्लाहरूमा फागुन २१ मा निर्वाचन हुन नसक्ने अवस्था आएमा भने दोस्रो चरणमा पनि गर्न सकिने उहाँले बताउनुभयो । राष्ट्रिय सेवा दल (एनसिसी) सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा सहभागी हुन मङ्गलवार नवलपुरको हात्तीखोर आउनुभएकी प्रधानमन्त्री कार्कीले पत्रकारसँगको कुराकानीमा यस्तो बताउनुभएको हो ।

मौसमले साथ दिएमा भने सबै निर्वाचन क्षेत्रमा फागुन २१ मै चुनाव गराउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ । “सरकारको पूरा ध्यान निर्वाचनमा मात्र केन्द्रित भएको छ, निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न गराउन हामी पूरा प्रयत्न गरिरहेका छौँ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो ।

उहाँले हिमाली जिल्लामा सहज तरिकाले निर्वाचन सम्पन्न गराउन सरकारले गरिरहेको तयारीबारे पनि जानकारी दिनुभयो । हिमाली जिल्लामा यातायातको पहुँच भएका स्थानमा मतदातालाई सवारी साधनमार्फत ओसारेर भए पनि निर्वाचन गर्ने उहाँको दृढता छ ।

“अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आइहाल्यो भने मात्र दोस्रो चरणमा हुन्छ, अन्यथा एकै चरणमा फागुन २१ मै चुनाव गराउँछौँ,” कार्कीले भन्नुभयो । अहिले विशेष अवस्थामा निर्वाचन हुन लागेको बताउँदै प्रधानमन्त्री कार्कीले निर्वाचनमा करिब ३० देखि ३२ अर्ब रुपियाँ खर्च हुने जानकारी दिनुभयो ।

मङ्गलवार आयोजित समारोहमा ५३० जना विद्यार्थी दीक्षित भएका छन् । यो वर्ष देशभरका २५७ विद्यालयका सात हजार ७१० जनाले तालिम प्राप्त गरेको र हालसम्म करिब ९० हजार युवा दीक्षित भइसकेको कार्यक्रममा जानकारी दिइयो ।

प्रधानमन्त्री कार्कीले दीक्षित क्याडेटलाई सम्बोधन गर्दै तालिममा सिकेको अनुशासन, नेतृत्वकला र राष्ट्रप्रेमलाई केवल भावनामा मात्र सीमित नराखी व्यवहारमा उतार्न आग्रह गर्नुभयो । विद्यार्थीको असल आचरण र व्यवहारले उन्नत समाज र समृद्ध राष्ट्र निर्माणको आधार तय गर्ने उहाँको भनाइ थियो ।