फडिन्द्र अधिकारी
लेखनाथ, माघ २० गते। कास्की क्षेत्र नम्बर २ को भूगोल बेला बेलामा फेरबदल भइरह्यो। जिल्लालाई कहिले तीन क्षेत्र त कहिले चार क्षेत्रमा विभाजन गरियो। सङ्घीयतापछि तीन क्षेत्र बनेको कास्की क्षेत्र नम्बर २ मा तीन चुनाव भइसकेका छन्। ती सबै निर्वाचनमा यहाँ (एमाले)का उम्मेदवार विजयी भएका छन्।
यो क्षेत्रका अधिकांश भाग क्षेत्र नम्बर ३ मा थिए। सो अवधिमा पनि एमालेले नै विजयी भएको थियो। २०७९ को निर्वाचनमा यो क्षेत्रबाट एमालेकी विद्या भट्टराई अधिकारी विजयी हुनुभएको थियो। २०७६ को उपचुनाव र २०७९ को निर्वाचन जित्नुभएकी अधिकारी अहिले मैदानमा हुनुहुन्न।
२०७९ मा यो क्षेत्रमा प्रत्यक्षमा निकटतम प्रतिस्पर्धी बन्नुभएका रास्वपा उम्मेदवार माधव कँडेलको पार्टीले समानुपातिकमा सर्वाधिक मत भएको थियो। फेरिएको परिस्थितिमा कास्की २ मा अहिले बहुपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। पोखरा महानगर प्रमुख भने यहाँ नेकपाले जितेको छ।
एमालेले पोखरा महानगरका पूर्व प्रमुखसमेत रहनुभएका कृष्ण थापालाई दिएको टिकट परिवर्तन गरी युवा रश्मि आचार्यलाई उठाएको छ। पृथ्वीनारायण क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका पूर्वसभापतिसमेत रहनुभएका आचार्य पहिलो पटक संसदीय निर्वाचनमा होमिनुभएको हो। नेकपा (एमाले)को बलियो सङ्गठन रहेको यो क्षेत्रमा स्थानीय तह निर्वाचनमा अधिकांश वडामा नेपाली कांग्रेस विजयी भएको थियो।
कास्की २ मा नेपाली कांग्रेसले माधवप्रसाद बास्तोलालाई उम्मेदवार बनाएको छ। पहिलो पटक संसदीय निर्वाचनमा होमिनुभएका बास्तोलालाई एमाले उम्मेदवार आचार्यसँगै नेकपाका किरण थापा (आमोद)सहित रास्वपाका उत्तमप्रसाद पौडेलले टक्कर दिने अनुमान छ। यो क्षेत्रमा १२ राजनीतिक दलका र पाँच स्वतन्त्र उम्मेदवार मैदानमा छन्।
पछिल्लो निर्वाचनमा समानुपातिकमा सर्वाधिक मत पाएको रास्वपालाई प्रत्यक्षमा ती मत परिणत गर्नुपर्ने बाध्यता छ। पौडेललाई टिकट दिइएपछि ११ वडामध्ये १० वडाका रास्वपाका सभापतिले सामूहिक हस्ताक्षर गरी उम्मेदवार परिवर्तन गर्न मागेका थिए। पौडेललाई आफ्नै पार्टीभित्र सन्तुलन राख्नुपर्ने चुनौती पनि छ।
कास्की २ मा नेकपाका उम्मेदवार थापा माओवादी विद्रोहमा संलग्न हुनुहुन्थ्यो। पोखरा महानगरका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नम्बर वडा रहेको यो क्षेत्रमा ८४ हजार एक सय ३४ मतदाता छन्।
यो क्षेत्रमा ९७ मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपाने बताउनुहुन्छ।