सिराज खान
नेपालगन्ज, माघ २० गते । बाँके जिल्लामा माघ २५ गतेदेखि सञ्चालन गरिने पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप अभियान अन्तर्गत यस वर्ष आठ हजार ५८४ जना किशोरीलाई एचपिभी खोप लगाइने छ ।
स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोर्कण गिरीले राष्ट्रिय खोप अभियान अन्तर्गत जिल्लामा सञ्चालन हुन लागेको एचपिभी खोप अभियान अन्तर्गत आठ हजार ५८४ जना किशोरीलाई खोप लगाइने बताउनुभयो ।
उहाँले त्यसका लागि जिल्लामा आठ हजार ६७० डोज खोप आइपुगेको जानकारी दिनुभयो। कोहलपुर नगरपालिकाले जनप्रतिनिधि र स्वास्थ्य संस्थाको प्रमुखलाई एचपिभी खोप अभियानबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ जनस्वास्थ्य अधिकृत गिरीले सो जानकारी दिनुभएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोहलपुरमा एक हजार सात सय, नेपालगन्जमा दुई हजार चार सय चार, राप्तीसोनारीमा ७२०, वैजनाथमा ८८०, नरैनापुरमा ७२१, जानकीमा ६७३, खजुरामा एक हजार १९ र डुडुवा गाउँपालिकामा चार सय ४१ जना किशोरीलाई खोप दिने लक्ष्य रहेको छ ।
बाँकेमा माघ २५ गतेदेखि खोप अभियान सुरु गरिए पनि कोहलपुरमा भने २६ गतेदेखि खोप अभियान सञ्चालनको तयारी गरिएको कोहलपुर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अमृता रानाले बताउनुभयो ।
विद्यालयमा अध्ययनरत कक्षा ६ का किशोरी, विद्यालय बाहिरका १० वर्षका किशोरी र अघिल्लो वर्षको खोप अभियानमा छुटेका ७ देखि १० कक्षामा अध्ययनरत र विद्यालय बाहिरका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउने लक्ष्य रहेको छ ।
किशोरीको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अत्यन्त प्रभावकारी भएकाले यस अभियानलाई सफल पार्न कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विकले बताउनुभयो ।
उहाँले लक्षित समूहका सबै किशोरीले अनिवार्य रूपमा खोप लगाउनुपर्ने भएकाले तोकिएको समयमा खोप नछुटाउन अभिभावक र विद्यालयलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो । एक डोज एचपिभी खोपको मूल्य आठ हजार रुपियाँभन्दा बढी पर्ने भएकाले राज्यले निःशुल्क रुपमा उपलब्ध गराएको यो अवसरको महत्त्व निकै ठूलो रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
समयमै खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम उल्लेख्य रुपमा घट्ने भएकाले अभिभावक, विद्यालय र समुदायलाई अभियानमा सक्रिय सहयोग गर्न पनि सो कार्यालयले सबैलाई आग्रह गरेको छ।