साहारा लिम्बू
फुङलिङ, माघ २० गते । प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा यस पटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । कुल ९० हजार ३ सय २७ मतदाता सङ्ख्या रहेको ताप्लेजुङमा बिभिन्न दलका गरी १३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
निर्वाचनको मिति नजिकिए सँगै उम्मेदवारहरू यतिबेला मतदाता रिझाउन व्यस्त रहेका छन् । यति सम्म की किसानले बारी जोतिरहेको ठाउँमा गएर हलो जोत्नेदेखि पसलमा पुगेर आफ्नो पक्षमा मत आकर्षित गर्न कम्मर कसेर लागेका छन् ।
२०७९ सालको निर्वाचनलाई आधार मान्ने हो भने यहाँ पुरानै दलको वर्चस्व छ । तुलनात्मक रुममा एमाले बलियो रहेको यहाँ एमाले उप–महासचिव योगेश भट्टराईले लगातार २ पटक निर्वाचनमा विजय हासिल गर्नुभएको थियो । तर यस पटक भट्टराई चुनावी मैदानमा हुनुहुन्न ।
अर्को रोचक कुरा त के छ भने १३ मध्ये ५ जना उम्मेदवार एकै स्थानीय तह सिरिजङ्घा गाउँपालिकाका रहेकाले मत बाझिने पनि निश्चित छ । तर यहाँ समानुपातिकमा भने एमाले पहिलो दल बनेको छ। २०७९ सालको निर्वाचनमा एमालेले प्रतिनिधिको समानुपातिकमा १९ हजार ६ सय ४ मत प्राप्त गरेर पहिलो दल बनेको थियो ।
यस्तै नेपाली काङ्ग्रेसले १५ हजार ७ सय ३५ मत प्राप्त गर्दै दोस्रो, तत्कालीन माओवादी केन्द्रले ५ हजार १ सय ६२ मत प्राप्त गर्दै तेस्रो भएको थियो । १ हजार ५ सय ४५ मत रहेको एकीकृत समाजवादी अहिले माओवादी सँग समाहित हुँदा नेपाली कम्युनिष्ट पार्टीको ६ हजार ७ सय ७ मत हुन्छ । जुन मत काङ्ग्रेस एमालेको तुलनामा तेस्रो नै रहन्छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीको ९ सय ७८, सिङ्घिया लोकतान्त्रिक राष्ट्रिय मञ्चको ९ सय ३२ तथा जनता समाजवादी पार्टीको ७ सय २२ मत रहँदा राप्रपाले ६ सय ३७ मत समानुपातिकमा पाएको थियो । समानुपातिकमा पुराना दलकै दबदबा रहँदा ताप्लेजुङमा कुन उम्मेदवारले पासा पल्टाउँछ यसै भन्न सकिने अवस्था छैन ।
समानुपातिकमा पहिलो र ६१ वडा मध्ये ३० वटा वडा एमाले एक्लैले जितेकाले यहाँ आफ्ना उम्मेदवार बिजयी हुनेमा एमाले कार्यकर्ता ढुक्क देखिन्छन् । यता धेरै निर्वाचनमा पराजय भोग्दै आएको नेपाली काङ्ग्रेस पनि यो पटक इतिहास रच्ने दाउमा छ भने, परिवर्तनको बिगुल फुकेर पुरानालाई पाखा लगाउन भन्दै उत्रेका नयाँ दलका उम्मेदवार पनि जित्ने दाबी गरिरहेका छन् ।
उम्मेदवारको सम्भावना र चुनौती
युवा सङ्घको अध्यक्ष भइसक्नुभएका थेबे एमालेको ११ औँ महाधिवेशनबाट केन्द्रिय सदस्य निर्वाचित हुनुभएका एमाले अध्यक्ष ओलीका विश्वासिलो पात्र मानिन्छ । युवा र केन्द्र सम्मको राजनीति पहुँच रहेको आकलन हुँदा यो निर्वाचनमा उहाँको प्रभाव बिगतका निर्वाचनमा भन्दा बलियो हुने एमाले कार्यकर्ताको बुझाइ छ । यति मात्र होइन उहाँ जिल्लाकै सबैभन्दा कन्छो उम्मेदवार पनि हो । किनकी पछिल्लो समय युवा परिर्वतनको आवज उठ्ने गरेको छ ।
तर, एमाले भित्रकै असन्तुष्टि पक्षका कारण थेबेको जितमा बाधा नआउँला भन्न सकिन्नँ । यति सम्म एमाले भित्र परिवारवादको हावी भएको एमालेकै असन्तुष्टि पक्षको गुनासो छ । थेवेका बुबा भूपेन्द्र थेबे २०७० को दोस्रो संबिधानसभा सदस्यमा निर्वाचित हुनभएको थियो भने आमा उर्मिला थेबे ७९ सालको निर्वाचन पछि समानुपातिक सांसद बन्नुभएको थियो । यसले पनि एमाले ताप्लेजुङमा थेबे परिवारको हाली मुहाली भएको गुनासो सुन्नमा पाइन्छत ।
तर, समयको माग अनुसार थेबेलाई युवा उम्मेदवारको रुपमा पार्टीले अघि सारेको अर्को पक्षको भनाई छ । यो सँगै एमाले उपमहासचिव भट्टराई, नेता तिलकुमार मेन्याङ्वो पनि थेबेको पक्षमा उभिँदा जित निश्चित रहेको एमाले कार्यकर्ताको विश्वास छ ।
नेपाली कांग्रेसका जिल्ला सभाति समेत रहनुभएका तुम्याहाङ पहिलो पटक निर्वाचनमा होमिनुभएको हो । युवा र बिद्यार्थीमा राम्रो सम्बन्ध बनाउनुभएका तुम्याहाङ यो पटक बिजयी हुनेमा कार्यकर्ता बिस्वस्त छन् ।
कुनै प्रश्नले नघेरेको निष्कलंक व्यक्ति मैदानमा उतारेको कांग्रेसको दावी छ । तर पार्टी भित्रकै असन्तुष्टी पक्षका कारण तुम्याहाङको जितमा बाधा पुग्न सक्छ । पार्टी भित्र देखिएको बिशेष महाधिबेशन र नियमित महाधिबेशनको असर जिल्लामा पनि नदेखिएला भन्न सकिन्न ।
अझ २०७९ सालको स्थानीय निर्वाचनमा माओवादी संगको गठबन्धन हुँदा पार्टीका नेताकार्यकर्तालाई पाखा लगाएर टिकट नदिएको आरोप कांग्रेसभित्र उठ्ने गरेको छ । यता पालिका अध्यक्षको दाबेदार रहनुभएका तर, टिकट विहिन बन्नुभएका पूर्व क्षेत्रीय सभापति राम बहादर कंलिबाले पार्टीमा कुनै समस्या नरहेको र तुम्याहाङलाई जिताउनमा नै लाग्ने बताउनुभए सँगै काङ्ग्रेस कार्यकर्तामा खुसी छाएको छ ।
जिल्ला उपसभापति समेत भइसक्नुभएका मणि प्रसाद लाबुङ लगायतले टिकट नपाएकै निउँमा पार्टी छोड्दा त्यसको असर पनि निर्वाचनमा देखिने अनुमान हुन थालेको छ । तर समाजसेवा र जिल्लामै क्रियाशिल रही काम गरेका कारण अन्य दलको मत पनि आफूहरुलाई आउने तुम्याहाङ पक्षको भनाई छ । यता पहिचानवादीको मुद्धामा समन्वयकारी रुपमै भूमिका निर्वाह गरेका भन्दै पहिचान पक्षधरको पनि मत आउँने कांग्रेसको दाबी छ ।
गत निर्वाचनमा तत्कालीन काङ्ग्रेस माओवादी गठबन्धनका साझा उम्मेदवार रनुभएका पराग एमाले उपमहासचिव भट्टराईसँग २०८ को झिनो मतान्तरले पराजित हुनुभएको थियो । उहाँ इमान्दार नेताको रुपमा समेत परिचित हुनुहुन्छ । तत्कालीन नेकपा माओवदी केन्द्रका जिल्ला इन्चार्ज रहनुभएका पराग अहिलो नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ ।
उहाँ यो पटक अघिल्लो मतलाई आकर्षित गर्दै बिजयी हुने दाउमा हुनुहुन्छ । गाउँघरमै बसेर जनताको दुख बुझ्ने भएका कारण यो पटको जित बुढाक्षेत्रीको पक्षमा हुने नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुको दावी रहेको छ । तर, कम्जोर पार्टी संगठनका कारण बुढाक्षेत्रीको संसदीय यात्रामा बे्रक लाग्ने पो हाकी भनी आशङ्का समेत गर्न थालेका छन् ।
नेपाली कांग्रेसकाे महाधिवेशन प्रतिनिधि समेत रहनुभएका श्रेष्ठ पार्टी परित्याग गरि राष्ट्रय स्वातन्त्र पार्टीमा प्रवेश गर्नु भएको हो । रास्वप जिल्ला सभापति समेत रहनुभएका श्रेष्ठ रास्वपाको बड्दो क्रेज र आफ्नो व्यक्तित्व प्रस्तुत गरेर बिजयी हुने तयारीमा हुनुहुन्छ ।
पेसाले इन्जिनियर रहनुभएका उहाँ परिवर्तनको मुल एजेण्डा लिएर मतदाता रिझाउनमा लागि पर्नुभएको छ । उहाँको जितमा संगठनको भन्दा व्यक्तिगत प्रभाव महत्वपूर्ण हुने देखिन्छ । कांगे्रसमा राजनीति गरी प्रख्यात बनिसक्नुभएका कारण कांग्रेसकै मत बढी आउँने रास्वपाको बुझाइ छ ।
यतिसम्म कि रास्वपाले सांगठानिक प्रतिवेदनमा काङ्ग्रेस जिल्ला सभापति गजेन्द्र तुम्याहाङको वडा खेवाङमा बढी रास्वपाको संगठित सदस्य रहेको समेत देखाएको छ । जहाँ कांग्रेसबाट बिद्रोह गरेर वडा अध्यक्ष जितेका बुद्धि दाहाल पनि रास्वपामै गर्नुभएका कारण रास्वपा अझै हौसिएको देखिन्छ ।
योसँगै मंगोल नेशनल अर्गनाइजेसनका सन्त लिम्बू, संघीय लोकतान्त्रिक मञ्चका मुक्साम लाबुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का इन्द्र थापा, जनता समाजवादी पार्टी ९जसपा० का अरुण लेछर्बो, नेपाल जनमुक्ति पार्टीका इन्द्र थलङले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उम्मेदवारी दर्ता गराउनेमा श्रम संस्कृति पार्टीका सुन्तोष राई, उज्यालो नेपालका कृतिमान मादेन, जसपा नेपालका सूर्य तमु, नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० का नरपती पौडेल रहनुभएको छ । १३ उम्मेद्धार मध्ये कधिकांश पहिलो पटक निर्वाचनमा होमिएको र नयाँ उम्मेदवारको उदयले ताप्लेजुङको निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ । तर जिल्लामा एक जना पनि महिला उम्मेदवार नभएका कारण पछिल्लो समय बहसको विषय पनि बन्दै गएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिनुभएका क्रमश नेकपा एमालेको तर्फबाट क्षितिज थेबे, नेपाली काँग्रेसको तर्फबाट गजेन्द्र प्रसाद तुम्याहाङ, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट खेल प्रसाद बुढाक्षेत्री (पराग) र राप्रपाबाट बिरेन्द्र श्रेष्ठ ।