• २० माघ २०८२, मङ्गलबार

राष्ट्रिय सेवा दलकाे दीक्षान्त कवाज

भावी पुस्ताका लागि मार्गदर्शक बन्नुहोस् : प्रधानमन्त्री कार्की

blog

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै । तस्बिर : केशव थापा/प्रधानमन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन 

नवलपुर (हात्तीखोर), माघ २० गते । प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूलाई आफ्नो अनुभव र सिकाइ नयाँ पुस्तामा बाँड्दै भाबी पुस्ताका लागि मार्गदर्शक बन्न आग्रह गर्नुभएको छ । 

राष्ट्रिय सेवा दल (एनसिसी) सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहलाई मङ्गलबार नवलपुरको हात्तीखोरमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री कार्कीले दीक्षित क्याडेटहरूलाई सम्बोधन गर्दै भन्नुभयो, “तपाईँहरूले यहाँ सिकेको अनुशासन, नेतृत्वकला र राष्ट्रप्रेमलाई केवल भावनामा मात्र सीमित नराखी व्यवहारमा उतार्नुहोस् । तपाईँहरूको आचरण र व्यवहारले नै उन्नत समाज र समृद्ध राष्ट्र निर्माणको आधार तय गर्ने छ ।”

अनुशासित युवा राष्ट्रको मेरुदण्ड

“अनुशासन नै राष्ट्र सेवाको मूल जग हो” भन्ने आदर्शलाई आत्मसात् गर्दै दीक्षित भएका युवाहरू नै राष्ट्रका मेरुदण्ड भएको प्रधानमन्त्रीको भनाइ थियो । उहाँले युवालाई विपद् र सङ्कटको घडीमा अग्रपङ्क्तिमा उभिएर समाजको भरोसा बन्न समेत निर्देशन दिनुभयो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “भूकम्प, बाढीपहिरो र आगलागीजस्ता विपदमा उद्धार र राहत कार्यमा स्वैच्छिक रूपमा सहभागी भई आफूलाई जिम्मेवार नागरिकका रूपमा प्रस्तुत गर्नुहोस् । कानुनको सम्मान र सार्वजनिक सम्पत्तिको संरक्षणमा तपाई‌हरूको भूमिका अग्रणी हुनुपर्छ ।”

९० हजार युवा दीक्षित, तालिम विस्तार गरिने

नेपाल सरकारले युवाहरूको चौतर्फी विकासलाई प्राथमिकतामा राखेको चर्चा गर्दै प्रधानमन्त्रीले राष्ट्रिय सेवा दलको तालिमलाई आगामी वर्षहरूमा अझ विस्तार गरिने जानकारी दिनुभयो । यस वर्ष देशभरका २५७ विद्यालयका ७ हजार ७१० जनाले तालिम प्राप्त गरेको र हालसम्म करिब ९० हजार युवा दीक्षित भइसकेको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभयो ।

कवाजको प्रशंसा

समारोहमा क्याडेट छात्रछात्राहरूले प्रदर्शन गरेको कलात्मक र उच्चस्तरको कवाजको प्रशंसा गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “आजको यो प्रदर्शनले तपाईँहरूको कडा परिश्रम र लगनशीलता झल्काएको छ । यसले हामीलाई सक्षम युवा नेतृत्वप्रति थप आशावादी बनाएको छ ।”

दीक्षान्त समारोहमा प्रधानसेनापति, पृतनापति, राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, विद्यालयका प्रधानाध्यापक तथा अभिभावकहरूको ठुलो सङ्ख्यामा उपस्थिति रहेको थियो । प्रधानमन्त्री कार्कीले तालिम सफल पार्न सहयोग गर्ने नेपाली सेना, स्थानीय सरकार र अभिभावकहरूलाई धन्यवादसमेत ज्ञापन गर्नुभयो ।