• २० माघ २०८२, मङ्गलबार

महिला उम्मेदवार सत्र प्रतिशत मात्रै

blog

जयकृष्ण यादव 

इनरुवा, माघ २० गते  । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरीमा महिला उम्मेदवारको सङ्ख्या न्यून रहेको छ । यहाँ प्रमुख राजनीतिक दलमध्ये नेपाली कांग्रेसले कुनै पनि क्षेत्रमा महिला उम्मेदवार बनाएको छैन भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेले चारमध्ये एक, राष्ट्रिय स्वतन्त्र पार्टीले एक, जनता समाजवादी पार्टीले एक, नेपाली कम्युनिस्ट पार्टीले एक जना महिला उम्मेदवार बनाएको छ । 

जिल्लाको चार वटा निर्वाचन क्षेत्रमा कुल १०८ जनाको उम्मेदवारी दर्ता हुँदा १९ जना मात्रै महिलाको उम्मेदवारी परेको छ । यो सङ्ख्या कुल उम्मेदवारको करिब १७.६ प्रतिशत मात्रै हो ।

प्रमुख राजनीतिक दलबाट नेकपा (एमाले) ले निर्वाचन क्षेत्र नं. ३ मा भगवती चौधरी, नेपाली कम्युनिस्ट पार्टीले क्षेत्र नं. २ मा रामकुमारी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नं. १ मा गोमा तामाङ र जनता समाजवादी पार्टी नेपालले क्षेत्र नं. ४ मा सविता यादवलाई उम्मेदवार बनाएको छ ।

निर्वाचन क्षेत्र नं. १ मा कुल २६ जनाको उम्मेदवारी दर्ता हुँदा दुई महिलाले मनोनयन दर्ता गराउनुभएको छ । निर्वाचन क्षेत्र नं. १ को निर्वाचन अधिकृत दिव्यराज घिमिरेले दिनुभएको जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोमा तामाङ र स्वतन्त्र रूपमा जीवनकला राई चुनावी मैदानमा हुनुहुन्छ । यस क्षेत्रमा धरानका निवर्तमान प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसहित २६ जना प्रतिस्पर्धा हुनुहुन्छ ।  

त्यसै गरी सुनसरीको निर्वाचन क्षेत्र नं. २ मा २८ जनाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउँदा सात जना महिलाको मात्रै उम्मेदवारी परेको छ । यो सङ्ख्या पुरुषको तुलनामा निकै न्यून रहेको देखिन्छ । यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट रामकुमारी चौधरी, नेकपा माओवादीबाट कृष्णकुमारी दनुवार, नेमकिपाबाट गीता मैया बिजको, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ताजिना विष्ट, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट तुलसा लिम्बू, स्वतन्त्रबाट अन्जनादेवी गुप्ता र रोशनी राईसहित सात जना महिला निर्वाचनको मैदानमा हुनुहुन्छ । 

यहाँ राजनीतिक दलबाट पाँच जना र दुई जना स्वतन्त्र महिलाको उम्मेदवारी परेको छ । यो २५ प्रतिशत मात्रै हो । यस क्षेत्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वकोशी प्रदेश सभा सदस्य राजीव कोइरालासहित २८ जना चुनावी प्रतिस्पर्धामा आउनुभएको छ । 

त्यसै गरी निर्वाचन क्षेत्र नं. ३ मा २० जनाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउँदा त्यसमा पाँच जना महिलाको मात्रै उम्मेदवारी परेको छ । यो सङ्ख्या पुरुषको तुलनामा ७५ प्रतिशत कम हो ।

यस क्षेत्रमा नेकपा (एमाले) बाट भगवती चौधरी र नेमकिपाबाट प्रकृति वासी तथा स्वतन्त्रबाट कुमारी उराँव, सुमनकुमारी चौधरी, कासनी थरुनीसहित पाँच जना महिला प्रतिस्पर्धामा रहेको निर्वाचन अधिकृत पदमबहादुर कार्कीले जनाकारी दिनुभएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसको नेता एवं पूर्वउपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारसहित २० जना उम्मेदवारी हुनुहुन्छ ।

निर्वाचन क्षेत्र नं. ४ मा ३४ जना उम्मेदवारमध्ये पाँच जना मात्रै महिला उम्मेदवार हुुनुहुन्छ । यहाँ जनता समाजवादी पार्टीबाट सविता यादव र नेपाल मजदुर किसान पार्टीबाट चन्चला न्हिनुवूको उम्मेदवारी परेको छ । त्यसै गरी स्वतन्त्रका तर्फबाट पार्वती मुखिया, फूलकुमारी खान, यमुना केसीसहित पाँच जना महिलाले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ३४ जना चुनावी मैदानमा हुनुहुन्छ ।