केदार तिमल्सिना
बनेपा, माघ २० गते । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा काभ्रेपलाञ्चोक जिल्लास्थित राजनीतिक दल र उम्मेदवारहरू घरदैलो तथा मतदाता भेटघाट अभियानमा व्यस्त बनेका छन् । निर्वाचन नजिकिँएसँगै जिल्लामा सक्रिय नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टीलगायत राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले घरदैलो अभियान तीव्र पारेका छन् ।
नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीले निर्वाचनलाई लक्षित गर्दै जिल्लाका दुवै निर्वाचन क्षेत्रमा पालिकास्तरीय विस्तारित बैठक तथा कार्यकर्ता भेला सुरु गरेको जनाएको छ । एमाले जिल्ला अध्यक्ष राजन भुर्तेलका अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर–१ अन्तर्गत खानीखोला, रोशी, महाभारत गाउँपालिका तथा पनौती, धुलिखेल र नमोबुद्ध नगरपालिकामा विस्तारित बैठक तथा कार्यकर्ता भेला सम्पन्न भइसकेको छ ।
उहाँका अनुसार क्षेत्र नम्बर–१ अन्तर्गतका पालिकाहरूमा माघ २१ गतेसम्म विस्तारित बैठक र भेला सञ्चालन गरिनेछ । त्यसैगरी क्षेत्र नम्बर–२ अन्तर्गत बनेपा, धुलिखेल र पनौतीमा विस्तारित बैठक सम्पन्न भइसकेको छ भने मण्डनदेउपुर, बेथानचोक, पाँचखाल र भुम्लु गाउँपालिकामा माघ २४ गतेभित्र बैठक तथा भेला सम्पन्न गरिनेछ । पालिकास्तरीय र वडास्तरीय निर्वाचन परिचालन समिति गठन गरी उम्मेदवार उपस्थित नभए पनि प्रचार–प्रसारमा खटिन निर्देशन दिइएको उहाँले बताउनुभयो ।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला सभापति तीर्थ लामाले कांग्रेस जिल्ला समितिले चुनावी क्यालेन्डर बनाएर आइतबारदेखि प्रतिनिधिसभा क्षेत्र नम्बर–१ अन्तर्गत खानीखोला गाउँपालिकाको मिल्चेबाट घरदैलो अभियान सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार उम्मेदवारसहितको टोलीले स्थानीय कार्यकर्ता तथा मतदातासँग भेटघाट गर्दै सुझाव सङ्कलन गरिरहेको छ ।
क्षेत्र नम्बर–२ अन्तर्गत भुम्लु, पाँचखाल र बेथानचोकमा पनि मतदाता भेटघाट कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।
नेपाली कम्युनिस्ट पार्टीका जिल्ला संयोजक भोला अर्यालले प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा पार्टीको आन्तरिक बैठक तथा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्र नम्बर–२ अन्तर्गत आइतबारदेखि बेथानचोक गाउँपालिका–४, चलालगणेशस्थानबाट मतदाता भेटघाट कार्यक्रम सुरु गरिएको छ । जिल्लाका दुवै क्षेत्रमा फागुन ४ गतेसम्म घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सञ्चालन गरी त्यसपछि कोणसभा र आमसभा आयोजना गरिने तयारी रहेको उहाँले बताउनुभयो ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू पनि जिल्लाका दुवै निर्वाचन क्षेत्रमा पालिकास्तरीय समितिसँग समन्वय गर्दै घरदैलो अभियानमा सक्रिय छन् । रास्वपा जिल्ला सभापति प्रविन ढकालका अनुसार उम्मेदवारहरूले मतदाता भेटघाट गरिरहेका छन् भने पार्टीको चुनावी घोषणापत्र तयारी अन्तिम चरणमा पुगेको छ । घोषणापत्र सार्वजनिक भएपछि त्यससहित मतदातामाझ जाने तयारी रहेको उहाँले बताउनुभयो ।
उज्यालो नेपाल पार्टीलगायत अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू पनि मतदाता भेटघाटमा सक्रिय छन् । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर–२ का उम्मेदवार इञ्जिनियर ज्योत्सना सैँजुले बनेपा, बेथानचोक र धुलिखेलका विभिन्न वडामा मतदातासँग भेटघाट गरेको जानकारी दिनुभयो । उहाँले फागुन ४ गतेसम्म विभिन्न पालिकामा मतदाता भेटघाट गरी त्यसपछि घरदैलो, भेला तथा सभाका कार्यक्रम अघि बढाइने बताउनुभयो ।
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्लाका दुवै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू घरदैलो तथा मतदाता भेटघाट अभियानमा सक्रिय रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा १५ वटा राजनीतिक दल र ३ जना स्वतन्त्र गरी १८ जना उम्मेदवार तथा क्षेत्र नम्बर–२ मा १६ वटा राजनीतिक दल र ८ जना स्वतन्त्र गरी कुल २४ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।