• २० माघ २०८२, मङ्गलबार

प्रतिनिधि सभा निर्वाचन : सप्तरी–२ मा पेचिलो प्रतिस्पर्धा

blog

विनय कर्ण

कल्याणपुर, (सप्तरी) माघ २० गते  । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा यस पटक पनि अत्यन्तै पेचिलो प्रतिस्पर्धा हुने भएको छ । २०५६ सालयता यस क्षेत्रमा दोहोरिएर कुनै पनि उम्मेदवार विजयी हुन नसक्नुले यहाँको चुनावी इतिहास नै अनिश्चित र प्रतिस्पर्धात्मक हुने गरेको छ । 

२०४८ र २०५१ सालको निर्वाचनमा तत्कालीन सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंह निर्वाचित हुनुभएको थियो । २०५६ सालको निर्वाचनमा उहाँ नेपाली कांग्रेसका उम्मेदवार रामकुमार चौधरीसँग मात्र १७ मतले पराजित हुनुभयो । त्यसयता यस क्षेत्रमा कुनै पनि उम्मेदवारले लगातार जित हात पार्न सकेका छैनन् । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको थियो । सो निर्वाचनमा उहाँलाई नेपाली कांग्रेसको समर्थन रहेको थियो । २०७९ सालको निर्वाचनमा पुनः उम्मेदवार बन्नुभएका यादव जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग दोब्बर मतान्तरले पराजित हुनुभयो । उक्त निर्वाचनमा डा. राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा यादवले १८ हजार ६३ मतमा सीमित हुनु परेको थियो । 

विगतको अनुभवबाट पाठ सिक्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव यसपल्ट सप्तरी क्षेत्र नं. ३ बाट उम्मेदवार बन्नुभएको छ । यस क्षेत्रमा विगत जस्तै यस पटक प्रतिस्पर्धा अझै जटिल र पेचिलो हुने स्थानीय मतदाता बताउँछन् । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत दोहोरिएर यसै क्षेत्रबाट उम्मेदवार बन्नुभएको छ भने जनमत पार्टीमै रहेर मधेश प्रदेश सरकारको नेतृत्व गरिसकेका पूर्वमुख्यमन्त्री सतीशकुमार सिंह स्वाभिमान पार्टीबाट चुनावी मैदानमा उत्रिनुभएको छ । यस्तै जनमत पार्टीका पूर्वप्रवक्ता तथा हाल जनअधिकार पार्टीका अध्यक्ष डा. शरतसिंह यादव पनि यही क्षेत्रबाट उम्मेदवार बन्नुभएको छ । 

यसले राउतको मतदातालाई प्रभावित बनाउन सक्ने कतिपय स्थानीयको आकलन छ । डा. राउतले भने यस क्षेत्रका मतदातामाथि विश्वास रहेकाले दोहोरिएर यसै क्षेत्रबाट उम्मेदवारी दिएको बताउनुहुन्छ । २०७० सालको संविधान सभा निर्वाचनमा माओवादीबाट निर्वाचित तथा पूर्वमन्त्री उमेशकुमार यादव यस पटक जसपा नेपालबाट उम्मेदवार बन्नुभएको छ ।  

उहाँ २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उपेन्द्र यादवसँग र २०७९ को प्रदेश सभा निर्वाचनमा पराजित हुनुभएको थियो । उहाँले विगतमा गरेको काम र आममतदाताको चाहना अनुसार नै सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवारी दिएको तर्क छ । विगतको तालमेल र गठबन्धनका कारण कांग्रेसले १२ वर्षपछि यस क्षेत्रबाट जिल्ला उपसभापति रामकुमार यादवलाई चुनावी मैदानमा उतारेका छन् । उहाँले पनि लामो समयपछि आफ्नो पार्टी एक्लै चुनावमा होमिएको हुँदा मतदाता निकै उत्साहित रहेको बताउनुहुन्छ ।

उम्मेदवारको दाबी आआफ्नै रहे पनि सप्तरी क्षेत्र नं. २ मा विगतको नदोहोरिने इतिहासले प्रतिस्पर्धामा रहेका उहाँहरूमाथि मनोवैज्ञानिक दबाब भने सिर्जना गरेको मधेश मामिलाका जानकार एवं विश्लेषक अधिवक्ता अवधेशकुमार सिंहको तर्क छ । नेपाल पत्रकार महासङ्घ सप्तरीका पूर्वअध्यक्ष विष्णुकुमार मण्डलले यस क्षेत्रका मतदाता सचेत रहेको र उम्मेदवारलाई परीक्षण गरेर मात्र मतदान गर्ने भएकाले दोहोरिएर नजित्ने गरेको बताउनुभयो । 

नेकपा (एमाले) बाट मोहम्मद जियाउल हक, नेपाली कम्युनिस्ट पार्टीबाट सूर्यनाथप्रसाद यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामजी यादव, राष्ट्रिय मुक्ति पार्टीबाट अनिश अन्सारी, नेपाल जनता पार्टीबाट रन्जुकुमारी झासहित कुल ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सबै उम्मेदवार आफ्ना पक्षमा मतदाता आकर्षित गर्न गाउँटोलमा पुगेर संवाद, भेटघाट र छलफललाई तीव्र बनाइरहेका छन् । विगतको चुनावी इतिहास र हालको बहुकोणीय प्रतिस्पर्धालाई ध्यानमा राख्दै सप्तरी क्षेत्र नं. २ को निर्वाचन परिणाम यस पटक पनि अत्यन्तै पेचिलो हुने स्थानीय मतदाताको आकलन रहेको छ ।