घोराही समाचारदाता
घोराही, माघ २० गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मत माग्ने उम्मेदवार गाउँघरतिर भेटिन थालेका छन् । स्थानीय आवश्यकता र विकासका मूल एजेन्डा बोकेर मतदाताको घरदैलोमा उम्मेदवार व्यस्त भएको देखिएका छन् ।
कार्यकर्ताको हुलसहित गाउँघरतिर हिँडेका उम्मेदवारले घोषणापत्र भने अझै सार्वजनिक गर्न सकेका छैनन् । पार्टीका घोषणापत्र निर्माणको काम भइरहेको बताउने गरेका उम्मेदवारले विगतमा गरेका विकास निर्माणका काम देखाउनेदेखि आफूले जितेमा भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न भूमिका खेल्ने भन्दै मतदातासँग भोट माग्ने काम गरिरहेका छन् ।
उम्मेदवारी दर्तासँगै मतदातासँग भेटघाट गर्ने, सुखदुःखका कुरा गर्ने, छलफल गर्ने, मत माग्ने र विभिन्न ठाउँमा सम्पर्क कार्यालय खोल्ने काम भइरहेको दाङ क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले बताउनुभयो । घोषणापत्र लेखनको काम भइरहेकाले अहिले मतदातालाई भेट्ने र उहाँहरूका समस्या सुन्ने र मत माग्ने काम भइरहेको उहाँले बताउनुभयो ।
नेकपा (एमाले) का उम्मेदवार शङ्कर पोख्रेल केही दिनयता दाङबाहिर जानुभएको भए पनि पार्टी तहबाट हुने निर्वाचन प्रचारप्रसारको काम भइरहेको एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले बताउनुभयो । जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नं. १ र ३ मा उम्मेदवार प्रचारप्रसारमा रहेको भन्दै अध्यक्ष आचार्यले भन्नुभयो, “क्षेत्र नं. १ र ३ मा उम्मेदवारले मतदातासँग भेटघाट गरिरहनुभएको छ । क्षेत्र नं. २ का उम्मेदवार काठमाडौँमा भएकाले पार्टी तहबाट हुने प्रचारप्रसारको काम भइरहेको छ ।”
दाङ क्षेत्र नं. २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार निर्मल आचार्यले पनि मतदातासँग भेटघाट गरिरहनुभएको छ । निर्वाचन क्षेत्र अन्तर्गत विभिन्न ठाउँमा जाने र जनताका समस्या बुझ्नेदेखि आफ्ना कुरा राख्ने काम भइरहेको आचार्यले बताउनुभयो । निर्वाचन आचारसंहिताका कारण ठुला कार्यक्रम फागुन ४ गतेपछि नै गर्ने गरी अहिले जनताको घरदैलोमा पुग्ने, जनताका कुरा सुन्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिनकुमार आचार्यले जनतासँग भेटघाट गर्दै सुझाव सङ्कलन गर्ने काम भइरहेको बताउनुभयो । उम्मेदवारी दर्ता गरेसँगै क्षेत्र नं. २ का विभिन्न गाउँमा जाने जनताका कुरा सुन्नेदेखि आफ्ना कुरा राख्ने काम भइरहेको उहाँको भनाइ छ । प्रमुख राजनीतिक दलसँगै साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत चुनाव प्रचारप्रसारमा जुटेका छन् । दाङका तीन निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६० जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।