हुम्ला समाचारदाता
हुम्ला, माघ २० गते । विभिन्न दलका उम्मेदवारले हुम्ला नाम्खा गाउँपालिकामा आआफ्नो चुनावी प्रचारप्रसार कार्यक्रमलाई स्थगित गरेका छन् । सिमकोट गाउँपालिका–७ को लाग्नामा बाक्लो हिमपात जमेर यातायात सेवा सुचारु भएका कारण चुनावी प्रचार स्थगित गरिएको छ ।
सबैभन्दा पहिला उत्तरी नाम्खा गाउँपालिकामा निर्वाचनको प्रचारप्रसार कार्यक्रम तय गरिएको भए पनि माघ महिनाको १० गतेबाट हिमपात सुरु भएको कारण यसपछि तय भएको कार्यक्रम स्थगित गरिएको नेपाली कम्युनिस्ट पार्टीका सचिव धर्मराज बोहराले बताउनुभयो । एक हप्ताअगाडि चुनावी प्रचार अभियान सुरु गरेको सो पार्टीले यो अवधिमा पार्टी बैठक तथा सिमकोट गाउँपालिका–५ र ६ मा कार्यक्रम आयोजना गर्नु परेको र अब सिमकोट गाउँपालिकाकै वडा नम्बर १, २ र ३ मा प्रचारको कार्यक्रम भइरहेको उहाँले बताउनुभयो ।
सिमकोट गाउँपालिकाका ती वडामा प्रचार कार्यक्रम सकिएपछि खार्पुनाथ गाउँपालिकामा जाने तयारी उक्त पार्टीले गरेको छ । त्यसपछि नाम्खा वा अन्यत्र कता प्रचारप्रसारमा जाने भन्ने निधो मौसममा भर पर्ने बताउँदै हाल नाम्खा गाउँपालिकामा चुनावी प्रचारप्रसारका लागि जाने सम्भावना नरहेको उहाँले बताउनुभयो । यता सबैभन्दा पहिले निर्वाचनका अनौपचारिक प्रचारको कार्यक्रम सुरु गरेको नेपाली कांग्रेसले पनि पहिला नाम्खा गाउँपालिकाको लिमीबाहेकका अन्य पाँच वटा वडामा चुनावी प्रचारप्रसार गर्न घरदैलो कार्यक्रम तय गरेको हुम्लाका उपसभापति वसन्त रोकायाले बताउनुभयो । छोटो समयमा चुनावी प्रचारप्रसार गर्नुपर्ने बाध्यतामा दल तथा उम्मेदवार रहेकोमा त्यसमाथि हिमपातले समय खाएका कारण जिल्लाका गाउँबस्तीमा पुग्न पनि कठिन रहेको उहाँले बताउनुभयो ।
मतदातासमेत बाहिर रहेको नाम्खाको लिमीमा यस पटकको निर्वाचनमा प्रचारप्रसार कुनै पनि दल जान नसक्ने अबस्था रहेका उहाँले बताउनुभयो । यता नेकपा (एमाले) ले पनि नाम्खा गाउँपालिकामा चुनावी प्रचारमा जाने कार्यक्रमलाई स्थगित गरेर सिमकोटबाट दक्षिणी क्षेत्रका लागि सुरु गरेको एमाले उपाध्यक्ष प्रकाशबहादुर शाहीले बताउनुभयो । यही अवस्था रहे प्रचार त के नाम्खा गाउँपालिकामा मतदान कार्य पनि के हुन्छ भन्न नसकिने अवस्था रहेको उहाँले बताउनुभयो । यता राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार टासी लाङ्जोम मनोनयन दर्तापछि काठमाडौँ फिर्ता गएर हाल पैदल मार्गबाट ताँजाकोट गाउँपालिका पुगी चुनावी प्रचार कार्यक्रममा लाग्नुभएको सो पार्टीका हुम्लाका अध्यक्ष नरजित दमाईंले बताउनुभयो ।
त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार छक्क बुढाले पनि उत्तरी हुम्लामा हिमपात भएका कारण आफ्नै गाउँपालिका सर्केगाडबाट सुरु गरेको सो पार्टीका जिल्ला अध्यक्ष विकास महतले बताउनुभयो । त्यसै गरी प्रगतिशील लोकतान्त्रिक पार्टीका जटिल कार्कीले आफ्नै गाउँपालिका सर्केगाडबाट गर्नुभएको छ भने नेकपा माओवादीका कुम्भ बुढाले पनि ताँजाकोट गाउँपालिकाबाट गर्नुभएको छ ।