हुम्ला समाचारदाता
हुम्ला, माघ २० गते । हिमाली जिल्ला हुम्लाका स्वास्थ्य चौकीमा अस्थायी परिवार नियोजनका साधन अभाव भएको छ । स्वास्थ्य संस्थाम ती साधन नपाइने भएपछि विशेष गरी सेवाग्राही महिला खाली हात फिर्ता हुनुपर्ने अवस्था आएको छ ।
नियमित रूपमा प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन डिपो सरकारी स्वास्थ्य चौकीमा पाइन छोडेको सिमकोट गाउँपालिका–२ को ठेहे गाउँकी ल्वान्नी सुनारले बताउनुभयो । परिवार नियोजनका सबै खाले अस्थायी साधन स्वास्थ्य चौकी निःशुल्क दिनुपर्ने व्यवस्था रहेको छ तर पुस यता ठेहे स्वास्थ्य चौकीमा नियमित रूपमा डिपो लगाउने कोही पनि महिलाले उक्त साधन प्रयोग गर्न नपाएको उहाँले बताउनुभयो । नियमित परिवार नियोजनका साधन प्रयोग गर्ने महिलामध्ये केही महिलाले बच्चा जन्माउनुभन्दा सदरमुकाम सिमकोट पुगेर निजी फार्मेसीमा व्यक्तिगत लगानी गरेर डिपो लगाउँदै आउनुभएको उहाँले बताउनुभयो । ठेहे स्वास्थ्य चौकीमा प्रमुख दानबहादुर बोहोराले पुसमा २७ जना र माघमा २३ जना नियमित रूपमा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न नपाएको बताउनुभयो । स्वास्थ्य चौकीमा उक्त साधन नभएका कारण सेवाग्राही महिला आए खाली हात फिर्ता पठाउनुको विकल्प नभएको उहाँले बताउनुभयो । स्वास्थ्य चौकीमा परिवार नियोजनका अस्थायी साधन नभएको जानकारी गराउन गाउँँपालिका स्वास्थ्य शाखाबाट पनि यी साधनको अभाव रहेको जवाफ आउने गरेको उहाँँको भनाइ छ ।
यतिबेला ठेहेको स्वास्थ्य चौकीमा मात्र नभएर जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा यो समस्या रहेको छ । सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले अघिल्लो आर्थिक वर्षमा बचेको र स्वास्थ्य सेवा कार्यालयबाट उपलब्ध भएका परिवार नियोजनका अस्थायी साधन हालसम्म काम चलाउ रूपमा भए पनि नयाँ खरिद गरेर ल्याउने कार्य नभएका कारण यो समस्या आएको जनाएको छ ।