हरिप्रसाद कोइराला
उर्लाबारी, माघ २० गते । मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रवक्ता लीलाराज लामिछानेका अनुसार रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर मङ्गलबार बिहान २ बजेतिर श्रीमती अम्बिका कुमारी मण्डलको हत्या गरी आफूूले आत्महत्या गरेका हुन् । मुकेश राति नै ससुराली पुुगेका थिए ।
मुकेशको घर र ससुराली घरको दूरी एक किलोमिटर भित्र पर्छ । विराटनगर बस्दै आएका दुबै जनाबिच घरायसी विवाद भएपछि अम्बिका माइत बस्दै आउनुभएको थियो ।
श्रीमातले चक्कुले प्रहार गर्दा अम्बिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटुवाल लगायत विज्ञ टोली घटनास्थल पुगेर दुुबै शवलाई पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक नरेन्द्र बोगटीले जानकारी दिनुुभयो । प्रहरी निरीक्षक बोगटीका अनुसार उनीहरूको विवाह गत मङ्सिर १२ गते भएको थियो ।