• २० माघ २०८२, मङ्गलबार

आचारसंहिता पालना गर्न उम्मेदवार प्रतिबद्ध

blog

अन्तर्क्रिया कार्यक्रमका सहभागी । तस्बिर : भवानीदत्त भट्ट

बेलौरी समाचारदाता

बेलौरी (कञ्चनपुर), माघ २० गते । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा तोकिएको आचारसंहिता पालना गर्न यहाँका उम्मेदवारले प्रतिबद्धता जनाएका छन् । जिल्ला निर्वाचन सुरक्षा समितिले महेन्द्रनगरमा आयोजना गरेको आचारसंहिता पालनासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सहभागी दलका प्रतिनिधि तथा उम्मेदवारले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् । 

प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले नजिकिएको निर्वाचनलाई शान्त, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचनमा सहभागी हुने सबै पक्षले आयोगले तोकेका आचारसंहिता पालना गर्न आग्रह गर्नुभयो । त्यस अनुरूप उम्मेदवारले कुनै सार्वजनिक संस्था, विद्यालय, विश्वविद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी भेला वा प्रचारप्रसार गर्न नहुने, बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न नहुने, सार्वजनिक आवागमनमा अवरोध हुने गरी प्रचारप्रसार गर्न नहुने, मतदाताको गोप्यता भङ्ग गर्ने कार्य गर्न नहुने, सामाजिक सञ्जालमा गलत, भ्रामक, द्वेषपूर्ण सूचना प्रवाह गर्न नहुनेलगायतका आयोगले तोकेका आचारसंहिता पालना गर्न यहाँका उम्मेदवार तयार देखिएका छन् । 

उम्मेदवारले निर्वाचन आचारसंहिता पालना गर्नुका साथै निर्वाचन खर्च व्यवस्थित पार्न छुट्टै खाता सञ्चालन गरिने प्रतिबद्धता जाहेर गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट क्षेत्र नं. ३ का उम्मेदवार पूर्णबहादुर चन्द, श्रमसंस्कृति पार्टीका उम्मेदवार गङ्गादत्त जोशी, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का उम्मेदवार कर्णबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि यज्ञराज भट्टलगायतका नेताले आचारसंहिता पूर्ण रूपमा पालना गर्ने र फागुन ४ सम्म प्रचारप्रसार, घरदैलो अभियान नगर्नेसमेत उम्मेदवारले प्रतिबद्धता जनाउनुभएको छ । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीले मतदाता परिचयपत्र फागुन १८ र १९ गते वितरण गरिने बताउनुभयो । यसका साथै निर्वाचनलाई शान्त र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई उहाँले आग्रह गर्नुभयो ।