बाजुरा समाचारदाता
बाजुरा, माघ २० गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि बाजुराका आठ जनामा चार जनाबिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसका जनकराज गिरी, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का लालबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका प्रकाशबहादुर शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा, राप्रपाका केशरबहादुर शाही, नेकपा (माओवादी केन्द्र) का भूपेन्द्र सी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का दीपक डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही यतिबेला बाजुराको चुनावी मैदानमा हुनुहुन्छ ।
यी आठ उम्मेदवारमध्ये विशेष गरी नेपाली कांग्रेसबाट जनकराज गिरी, नेकपा (एमाले) बाट लालबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका प्रकाश शाह र रास्वपाका हेमराज थापाबिच प्रतिस्पर्धा हुने भएको छ । कतिपय मतदाता खास गरी नेपाली कांग्रेसका जनकराज गिरी र एमालेका लालबहादुर थापाको विशेष प्रतिस्पर्धा हुने बताउँछन् भने केहीले जनकराज गिरी र प्रकाश शाहबिच मात्र प्रतिस्पर्धा हुने बताएका छन् । नेपाली कांग्रेसका जनकराज गिरी र एमालेका लालबहादुर थापा योभन्दा पहिला पनि प्रतिनिधि सभा सदस्य पदमा विजयी उम्मेदवार हुनुहुन्छ । त्यसै गरी प्रकाश शाह पनि प्रदेश सभा सदस्यका विजयी उम्मेदवार हुनुहुन्छ । हेमराज थापा भने पहिलो पटक प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारका रूपमा चुनावी मैदानमा हुनुहुन्छ । यसभन्दा पहिला बाजुरामा नेपाली कांग्रेस र एमालेको मात्र विशेष प्रतिस्पर्धा हुने गरेको थियो । यतिबेला भने नेपाली कम्युनिस्ट पार्टी र रास्वापासमेतको रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यतिबेला नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पनि मतदाताको चासो बढेको छ । रास्वपाको अहिले सुरु भएको घरदैलो अभियानमा युवाको पनि सहभागिता देखिएको छ ।
यहाँका धेरै गाउँबस्तीमा बुढापाका र महिलाको रोजाइमा नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी रहेको भए पनि अहिले केही युवा भने बाजुरामा नयाँले पालो पाउनु पर्छ भन्दै रास्वपाको घरदैलो अभियानमा जुट्दै गएका छन् । विसं २०७९ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसबाट बद्री पाण्डे विजयी हुनुभएको थियो । प्रदेश सभा सदस्यमा प्रदेश (क) बाट नरेश शाही (ख) बाट पदम शाही विजयी हुनुभएको थयो । यहाँका नौ वटै स्थानीय तहमध्ये छमा एमाले र तीनमा कांग्रेस विजयी भएको थियो ।
बाजुरामा ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र अन्य दुई गरी यहाँ ८७ हजार ८६१ जना मतदाता छन् । त्यसका लागि यहाँ ७७ स्टल, ११८ केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्गत महतले बताउनुभयो ।