पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, माघ २० गते । पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेसँगै उम्मेदवारहरूले मतदाता रिझाउन नयाँ र प्रविधिमैत्री शैली अपनाउन थाल्नुभएको छ । यस क्षेत्रका दुई प्रतिस्पर्धी उम्मेदवारहरू नेपाली कांग्रेसका विनोद चौधरी र उज्यालो नेपाल पार्टीका विजय कण्डेलले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि मतदाताहरूसँग अनलाइनमार्फत योजना र सुझाव माग्नुभएको हो ।
परम्परागत रूपमा नेताहरूले आफ्नै ढङ्गले घोषणापत्र तयार गर्ने परिपाटीलाई फरक शैलीमा दुवै उम्मेदवारले ‘जनताको माग र आवश्यकता’ लाई प्राथमिकता दिन अनलाइन प्लेटफर्मको सहारा लिनुभएको छ ।
विनोद चौधरीको पहलः स्थानीयकै सुझावमा ‘औद्योगिक केन्द्र’
नेपाली कांग्रेसका उम्मेदवार एवम् प्रतिष्ठित उद्योगपति विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको आवाज सुन्न भन्दै अनलाइन फारम सार्वजनिक गर्नुभएको छ । उहाँले नवलपरासी–१ लाई आर्थिक र औद्योगिक केन्द्र बनाउने सपना साकार पार्न स्थानीयकै सुझाव महत्त्वपूर्ण हुने बताउनुभयो । चौधरीले सामाजिक सञ्जालमार्फत लिङ्क साझा गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका लागि प्राथमिकता तोक्न मतदाताहरूलाई आग्रह गर्नुभएको छ ।
विजय कण्डेलको अभियानः प्रविधिमार्फत घर–दैलो
त्यस्तै, उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका युवा उद्योगी विजय कण्डेलले पनि डिजिटल माध्यमबाटै मतदाताको घर–दैलोमा पुग्ने प्रयास गर्नुभएको छ । उहाँले “तपाईंको क्षेत्रको समस्या के हो ? र समाधानका लागि के गर्नुपर्छ ?’’ भन्ने आशयका साथ अनलाइन फारममार्फत सुझाव सङ्कलन सुरु गर्नुभएको हो । कण्डेलले विशेषगरी युवा पुस्ता र प्रविधिप्रेमी मतदातालाई लक्षित गर्दै यो कदम चाल्नुभएको देखिन्छ ।
मतदातामा उत्साह र अपेक्षा
उम्मेदवारहरूले प्रविधिको प्रयोग गरी सुझाव मागेपछि स्थानीय मतदाताहरूमा पनि उत्साह देखिएको छ । स्थानीयहरूका अनुसार नेताहरू आएर भाषण गर्ने मात्र होइन, हाम्रा कुरा पनि सुन्न खोज्नु सकारात्मक कुरा हो ।
यस नवीन अभ्यासले मतदाताले आफ्नो गाउँ वा टोलको समस्या सिधै उम्मेदवारसम्म पुर्याउन पाउने, चुनाव जितेपछि उम्मेदवारलाई उहाँहरूकै प्रतिबद्धतामा प्रश्न गर्न र उत्तरदायी बनाउन सजिलो हुने र परम्परागत भीडभाड भन्दा पनि एजेन्डा र विकासमा आधारित राजनीतिलाई बढावा मिल्ने अपेक्षा गरिएको छ ।
नवलपरासी–१ मा यी दुई उम्मेदवारबिच देखिएको यो ‘डिजिटल प्रतिस्पर्धा’ ले आगामी निर्वाचनमा प्रविधिको भूमिका कति महत्त्वपूर्ण छ भन्ने स्पष्ट पारेको छ ।