• २० माघ २०८२, मङ्गलबार

पापिनी मेलामा ‘पापिनी विवाह’

blog

रुकुमपश्चिम, माघ २० गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–७, साँखको माथिगाउँबाट गएका जन्तीले तलीगाउँबाट केटी लिएर फर्किए ।  दुलही माग्न गएका उनीहरूले केटी केटीबिच बाजागाजासहित धुमधाम विवाह गरे । भोजभतेर गरे, मेला भरे । विवाहमा सयौँ मानिस सहभागी बने । यो नाटकीय विवाह हो । साँखगाउँमा परापूर्वकालदेखि नै यो रीति चल्दै आएको छ । केटी केटीकै बिचमा हुने यो विवाहलाई ‘पापिनी विवाह’ को नाम दिइएको छ । साँखगाउँमा मानव बसोबास सुरु भएदेखि नै पापिनी मेला लाग्न थालेको र उक्त मेलामा यसरी विवाह हुने प्रचलन रहेको वडाध्यक्ष एक्कबहादुर पाण्डेले जानकारी दिनुभयो ।  

साँखगाउँमा दह छ । उक्त दहको माथितिरको गाउँलाई माथिगाउँ र तलतिरको गाउँलाई तलीगाउँ भनिन्छ । यी दुई गाउँले परापूर्वकालदेखि नै आलोपालो विवाहको रीति धान्दै आएका छन् । यो वर्ष दुलही अन्माउने पालो तलीगाउँको थियो भने सामाजिक परम्परा अनुसार विवाह गरेर माथिगाउँले बेहुली लिए । माथिगाउँले परम्परा अनुसार बेहुली भित्र्याएको छ ।  

विवाह हेर्नेलाई कुनै पनि अवस्थामा काल्पनिक लाग्दैन । समाजमा चलिआएको रीति अनुसार नै विवाह सम्पन्न गर्ने प्रचलन छ । वडाध्यक्ष पाण्डेका अनुसार बेहुली लिन जन्ती जाने शैली, जन्तीलाई बेहुलीको गाउँमा स्वागत गर्ने संस्कार, माइतीमा विवाह गर्ने चलन, त्यसपछि विवाहको खुसियालीमा हुने नाचगान, बेहुलीलाई अन्माउने तरिकादेखि बेहुलीलाई घरमा लिएर गरिने स्वागत सबै हाम्रो सामाजिक मूल्य मान्यता अनुसार गरिन्छ ।