• २० माघ २०८२, मङ्गलबार

सामाजिक सुरक्षा कोषमा एक खर्ब बत्तिस अर्ब

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, माघ २० गते । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा एक खर्बभन्दा रुपियाँभन्दा बढी रकम सङ्कलन भएको छ । राष्ट्रिय कल्याणकारी कोषको समेत गर्दा कोषमा एक खर्ब ३२ अर्ब रहेको छ । कोषले सोमबार विज्ञप्तिमार्फत कोषका योजना कार्यान्वयन आएको छ वर्ष सात महिनामा अवधिमा १०१ अर्ब २८ करोड रुपियाँ सङ्कलन भएको जनाएको हो ।

कोषका अनुसार उक्त रकम औपचारिक क्षेत्रका छ लाख ७१ हजार, वैदेशिक रोजगारीमा गएका करिब २० लाख र अनौपचारिक र स्वरोजगारमा रहेका करिब एक हजार छ सय श्रमिक वा व्यक्तिबाट सङ्कलन भएको छ । कोषका सूचना अधिकारी डा. रोशन कोजूले कोषका विभिन्न योजनाबाट सङ्कलन भएको उक्त रकम दाबी भुक्तानी, अवकाश भुक्तानी र पेन्सनसमेत गरी करिब १८.५ अर्ब भुक्तानी भइसकेको जानकारी दिनुभयो । 

कोषले योगदानकर्ताको मागबमोजिम सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ को पहिलो संशोधन गरेको छ । संशोधित प्रावधान अनुसार योगदानकर्ता सापटी लिनका लागि योगदानकर्ताले कम्तीमा ३६ महिनाको योगदान हुनुपर्ने अविधिलाई विशेष सापटीका लागि १२ महिना र धितोमा आधारित सापटीका लागि १८ महिना योगदान गरेका योगदानकर्ताले पनि सापटी सुविधा लिन सक्ने गरी संशोधन गरेको छ । 

कोषले औपचारिक क्षेत्रबाट लागु भएका योजना, अनौपचारिक क्षेत्र, वैदेशिक रोजगारीका क्षेत्र र स्वरोजगारका क्षेत्र हुँदै गएको वैशाख १ देखि सरकारी कोषबाट तलब भत्ता खाने कर्मचारीसमेत सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने गरी कोषले दायरा विस्तार गरेको छ । यस अवधिसम्म ९१ स्थानीय तह र ३८ सार्वजनिक निकायले आफ्ना कर्मचारी कोषमा आबद्ध गरिसकेको जनाइएको छ ।