• १९ माघ २०८२, सोमबार

कोस्टारिकामा लौरा फर्नान्डिजको उदय

blog

दक्षिणपन्थी राजनीतिक वैज्ञानिक लौरा फर्नान्डिज ।

सान जोसे, माघ १९ गते । दक्षिणपन्थी राजनीतिक वैज्ञानिक लौरा फर्नान्डिज कोस्टारिकाको राष्ट्रपति निर्वाचित हुनुभएको छ । आफूलाई ‘विश्वको सबैभन्दा सुन्दर तानाशाह’ भन्ने साल्भाडोरका राष्ट्रपति नायब बुकेलेको शैली र कठोर सुरक्षा नीतिबाट प्रभावित उहाँको विजयलाई पछिल्लो समय ल्याटिन अमेरिकी राजनीतिमा देखिएको आक्रामक नेतृत्वको निरन्तरताका रूपमा हेरिएको छ ।

उनन्चालिस वर्षीया फर्नान्डिज निवर्तमान कन्जरभेटिभ राष्ट्रपति रोड्रिगो चाभेसको राजनीतिक उत्तराधिकारी मानिनुहुन्छ । चाभेसको कार्यकालमा उहाँले योजनामन्त्री र चिफ अफ स्टाफका रूपमा काम गर्नुभएको थियो । उहाँ सन् २०१० देखि २०१४ सम्म शासन गरेकी लौरा चिनचिलापछि कोस्टारिकाको राष्ट्रपति बन्ने दोस्रो महिला हुनुहुन्छ ।

फर्नान्डिजले मध्य अमेरिकामा लामो समयसम्म स्थिर र शान्त मुलुक मानिएको कोस्टारिकामा बढ्दो हिंसालाई प्रमुख चुनौतीका रूपमा चित्रण गर्नु भएको छ । क्यारिबियन र प्रशान्त दुवै तटरेखा रहेको यो देश कोलम्बिया र मेक्सिकन लागु औषध गिरोहका लागि पहिले ट्रान्जिट विन्दु मात्र भए पनि अहिले रसद केन्द्रमा रूपान्तरण भएको छ । लागुऔषध तस्करी स्थानीय समुदायसम्म फैलँदै गएपछि समूहगत झडप बढेका छन् र पछिल्लो छ वर्षमा हत्याको दर करिब ५० प्रतिशतले वृद्धि भएको छ ।

यही पृष्ठभूमिमा फर्नान्डिजले बुकेलेले अपनाएको कठोर सुरक्षा मोडेलबाट प्रेरणा लिँदै खतरनाक अपराधीका लागि मेगा–जेल निर्माण पूरा गर्ने र अपराधका हटस्पटमा आपतकालीन व्यवस्था लागु गर्ने प्रतिबद्धता जनाउनुभएको छ । चुनावी अभियानका क्रममा उहाँले अपराधीलाई सडकबाट हटाएर जेलमा राख्ने कडा उपाय अवलम्बन गरिने बताउनु भएको थियो ।

तर मानव अधिकार समूहले यस्तो मोडेलको नक्कलप्रति गम्भीर चेतावनी दिएका छन् । उनीहरूका अनुसार एल साल्भाडोरमा हजारौँ मानिस आरोपबिना थुनिएका घटनाले अपराध नियन्त्रणमा तात्कालिक परिणाम देखाए पनि नागरिक स्वतन्त्रतामा गहिरो असर पारेको छ । केही आलोचकले फर्नान्डिजलाई चाभेसको लोकप्रियतावादी एजेन्डालाई निरन्तरता दिने पात्रका रूपमा मात्र चित्रण गर्दै चाभेस पुनः सत्तामा फर्किने बाटो खोल्ने आशङ्का पनि व्यक्त गरेका छन् । 

सत्तारूढ पक्षभित्र संविधान संशोधन गरी चाभेसलाई छिटो पुनः चुनाव लड्न मिल्ने व्यवस्था गर्ने चर्चा चलिरहेको छ । फर्नान्डिजले आफ्नो मन्त्रिपरिषद्मा चाभेसलाई समेट्ने सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गर्नुभएको छैन । उहाँको राजनीतिक शैलीलाई आलोचकले द्वन्द्वात्मक र लोकप्रियतावादी भनेका छन् । न्यायपालिकालाई अपराधप्रति नरम र राजनीतिक अभिजात वर्गलाई जनताबाट टाढिएको रूपमा चित्रण गर्ने उहाँको भाषाशैलीले तीखो बहस जन्माएको छ । पूर्वराष्ट्रपति चिनचिलाले उहाँको शैलीलाई ‘राष्ट्रपतिको कमजोर नक्कल’ को संज्ञा दिनुभएको छ ।

प्रशान्त तटीय सहर पुन्टारेनासमा जन्मिएकी फर्नान्डिज किसान बुवा र शिक्षिका आमाको सन्तान हुनुहुन्छ । बाल्यकाल ग्रामीण परिवेशमा बिताएको अनुभव उहाँले बारम्बार स्मरण गर्नुहुन्छ । दुई पटक विवाह गरेकी उहाँ तीन वर्षीया छोरीकी आमा हुनुहुन्छ र आफूलाई आर्थिक रूपमा उदार तर सामाजिक रूपमा रूढीवादी मान्नुहुन्छ । गर्भपतन, इच्छामृत्यु र पारिवारिक मूल्यबारे उहाँका कडा अभिव्यक्तिले समर्थक र आलोचक दुवै जन्माएका छन् ।

चुनावको पूर्वसन्ध्यामा स्थानीय सञ्चार माध्यमले अल्ट्राकन्जरभेटिभ इभान्जेलिकल समूहसँग समर्थनका बदलामा सरकारी पद दिने कथित सम्झौताको चर्चा गरेपछि उहाँको सम्भावित शासनदिशा अझै विवादको केन्द्रमा रहेको छ । रासस/एएफपी