• १९ माघ २०८२, सोमबार

तनहुँ जलविद्युत आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन

blog

अनुगमनको क्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, माघ १९ गते ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्ष हितेन्द्र देव शाक्यले निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा कार्यकारी निर्देशक शाक्यले आयोजनाका विभिन्न प्याकेजअन्तर्गत भइरहेका कामहरूको मसिनो गरी अवलोकन गर्दै निर्माण कार्यलाई तोकिएकै समयतालिकाभित्र सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ ।

कार्यकारी निर्देशक शाक्य नेतृत्वको उच्चस्तरीय टोलीले आइतबार प्याकेज–१ अन्तर्गतको मुख्य बाँध निर्माण स्थल, प्याकेज–२ अन्तर्गतको विद्युतगृह, मुख्य सुरुङ र इन्टेक लगायतका महत्त्वपूर्ण संरचनाहरूको अवलोकन गरेको थियो । सो अवसरमा शाक्यले आयोजनाको भौतिक प्रगतिबारे जानकारी लिँदै राष्ट्रिय गौरवको यो आयोजनाले मुलुकको ऊर्जा क्षेत्रमा ठूलो महत्व राख्ने भएकाले निर्माणमा संलग्न सबै पक्षलाई पूर्ण जिम्मेवारी र तत्परताका साथ खटिन आग्रह गर्नुभयो । उहाँले निर्माणका क्रममा आइपर्ने प्राविधिक तथा व्यवस्थापकीय चुनौतीहरूलाई तत्काल समाधान गर्दै कामको गतिलाई अझ तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।

आयोजनाको प्रगतिबारे चर्चा गर्दै आयोजना प्रमुख श्यामजी भण्डारीले प्याकेज–१ अन्तर्गत बाँध निर्माणको कार्य ४७ प्रतिशत पुगेको र १४० मिटर अग्लो बाँधको कङ्क्रिटिङ कार्य सुरु भइसकेको जानकारी दिनुभयो । यसैगरी, प्याकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको विद्युतगृह र भूमिगत संरचनाको काम ७२.५ प्रतिशत सकिएको छ भने प्याकेज–३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको प्रगति ७४.५ प्रतिशत पुगेको उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा कार्यकारी निर्देशक शाक्यले आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग संयुक्त छलफल गर्दै वातावरणीय तथा सामाजिक सुरक्षणका विषयमा पनि चासो व्यक्त गर्नुभयो । उहाँले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा देखिएका समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयहरूसँग समन्वय भइरहेको बताउँदै आयोजनामा कुनै पनि बहानामा ढिलाइ सह्य नहुने स्पष्ट पार्नुभयो ।

कुल ५० करोड ५० लाख अमेरिकी डलर लागत अनुमान गरिएको यस आयोजनामा एसियाली विकास बैंक (एडीबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), युरोपियन लगानी बैंक र नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी रहेको छ । राष्ट्रिय प्रणालीको भार व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने लक्ष्य राखिएको यो जलाशययुक्त आयोजनालाई निर्धारित समयभित्रै सञ्चालनमा ल्याउन नेतृत्व तहबाट निरन्तर निगरानी र निर्देशन भइरहेको छ ।