• १९ माघ २०८२, सोमबार

धनुषामा चुनावी सरगर्मी तीव्र

चारै क्षेत्रमा कडा प्रतिस्पर्धा, पुरानै प्रतिद्वन्दी आमनेसामने

blog

लक्ष्मी चौधरी
जनकपुरधाम, माघ १९ गते ।
मधेश प्रदेशको राजधानी जिल्ला समेत रहेको धनुषामा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यस जिल्लालाई मधेशको राजनीतिक गढका रूपमा चिनिन्छ। उम्मेदवार बनेका नेताहरूको गतिविधि बढेसँगै चुनावी चर्चा पनि चुलिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषाका चारै निर्वाचन क्षेत्रमा ठुला दलका अनुभवी तथा चर्चित नेताहरू चुनावी मैदानमा छन्। धनुषाको चुनावी मैदानमा पुराना र नयाँ उम्मेदवारबिच प्रतिस्पर्धा हुने देखिन्छ।

क्षेत्र नम्बर–१ः प्रभावशाली नेताबीच कडा भिडन्त
धनुषा क्षेत्र नम्बर–१ चर्चित क्षेत्र हो। यसमा नेकपा एमालेबाट मधेश प्रदेश सभाका पूर्व सभामुख रामचन्द्र मण्डल उम्मेदवार हुनुहुन्छ। प्रदेशसभा सदस्यबाट राजीनामा दिएर सङ्घीय चुनावमा होमिएका मण्डललाई प्रभावशाली उम्मेदवार मानिन्छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट पूर्व मन्त्री मातृका यादवले उम्मेदवारी दिनुभएको छ। लामो राजनीतिक अनुभव भएका यादव यस क्षेत्रका परिचित अनुहार हुन्। जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पूर्व प्रतिनिधि सभा सदस्य दिपक कार्की उम्मेदवार दिनुभको छ।

नेपाली कांग्रेसबाट पार्टीका सक्रिय तथा पुराना नेता राम पलटन साह पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नुभएको हो। नयाँ भए पनि कांग्रेसको सांगठनिक आधारले उहाँ बलियो उम्मेदवार मानिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट किशोरी साह कमल र जनमत पार्टीबाट ब्रह्मदेव महतोले पनि उम्मेदवारी दिनुभएको छ। यस क्षेत्रमा कुल ४२ जना उम्मेदवार छन्; जसमा २९ स्वतन्त्र र १३ दलगत।

क्षेत्र नम्बर–२ः पुराना अनुहार र नयाँ पुस्ताको प्रतिस्पर्धा
धनुषा क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसबाट दिनेशप्रसाद यादव परसैला उम्मेदवार हुनुहुन्छ। उहाँ कांग्रेस मधेश प्रदेश सभापतिको प्रत्याशी पनि रहिसक्नुभएको छ।

नेकपाबाट पूर्व मन्त्री एवं वरिष्ठ नेता रामचन्द्र झा र नेकपा एमालेबाट पूर्व मन्त्री उमाशंकर अरगरिया चुनावी मैदानमा हुनुहुन्छ। जसपा नेपालले युवा नेता पशुपति यादवलाई उम्मेदवार बनाएको छ भने रास्वपा र जनमत पार्टीबाट क्रमशः राम विनोद यादव र सुरेन्द्रप्रसाद यादव उम्मेदवार हुनुहुन्छ।

क्षेत्र नम्बर–२ मा कुल ३४ उम्मेदवार छन्; २४ स्वतन्त्र र १० दलगत।

क्षेत्र नम्बर–३ः सबैभन्दा बढी चर्चामा
धनुषाका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर–३ सबैभन्दा बढी चर्चित छ। नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। निधि पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहिसक्नुभएको छ।

उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी पूर्व मन्त्री तथा पोलिटब्युरो सदस्य जुली कुमारी महतो हुनुहुन्छ, जो यस क्षेत्रबाट निर्वाचित भइसक्नुभएको छ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसमेत रहिसक्नुभएको छ।

जसपाबाट पूर्व प्रदेशसभा सदस्य परमेश्वर साह सुडी, रास्वपाबाट पूर्व प्रतिनिधि सभा सदस्य मनिष झा, जनमत पार्टीबाट गोपालप्रसाद साह र राष्ट्रिय मुक्ति मोर्चाबाट समाजसेवी डा. राजिव झा उम्मेदवार हुनुहुन्छ।

क्षेत्र नम्बर–३ मा कुल ४५ उम्मेदवार छन्; २९ स्वतन्त्र र १३ दलगत।

क्षेत्र नम्बर–४ः पुरानै प्रतिद्वन्द्वी आमनेसामने
धनुषा क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्व मन्त्री महेन्द्र यादव र नेकपा एमालेका पूर्व मन्त्री तथा उपमहासचिव रघुवीर महासेठबिच पुनः प्रतिस्पर्धा हुँदैछ। यसअघि १२४ मतान्तरले पराजित भएका यादव र महासेठबिचको भिडन्तलाई धेरैले चासोका साथ हेरिरहेका छन्।

जसपाबाट ई.डा. कृष्णप्रसाद चन्द्र साह, रास्वपाबाट राजकिशोर महतो र जनमत पार्टीबाट इन्द्रजीत कुमार यादव उम्मेदवार हुनुहुन्छ।

क्षेत्र नम्बर–४ मा कुल ३७ उम्मेदवार छन्; २४ स्वतन्त्र र १३ दलगत।

धनुषामा महिला उम्मेदवार न्यून
चारै निर्वाचन क्षेत्रमा १५८ उम्मेदवारमध्ये महिला उम्मेदवार केवल १५ जना मात्र छन्। तीमध्ये तीन जना दलगत र १२ जना स्वतन्त्र महिला उम्मेदवार हुन्।

मतदाता र मतदान संरचना
निर्वाचन आयोगका अनुसार मधेश प्रदेशमा कुल मतदाता सङ्ख्या ३६ लाख ३६ हजार ४१४ रहेको छ, जसमा धनुषा जिल्लामा मात्र पाँच लाख १४ हजार ५७१ मतदाता छन्। जिल्ला भर ३२२ मतदान स्थल र ५४५ मतदान केन्द्र तोकिएका छन्।

धनुषामा देखिएको कडा प्रतिस्पर्धा, अनुभवी नेताहरूको उपस्थिती र नयाँ राजनीतिक शक्तिको प्रवेशले यसपटकको निर्वाचनलाई मधेशकै सबैभन्दा निर्णायक र चासोपूर्ण बनाएको छ।