• १९ माघ २०८२, सोमबार

नयाँ फूल

blog

शनिबारको बिहानी । विद्यालय पनि बिदा थियो । आँगनछेउको सानो बगैँचामा सयपत्री, लालुपाते र चमेलीका फूल घामसँगै खेल्दै थिए । हजुरबुवा लट्ठी समाएर बगैँचा हेर्न निस्कनुभयो । विद्यालय पढ्ने नाति पनि टुप्लुक्क आइपुगे । उनी हजुरबुवाको पछि लागे ।

फूलबारीमा मुस्कुराउँदै फुलिरहेका फूल देखेपछि नातिले आँखा ठुला पार्दै सोधे, “हजुरबा, यति धेरै फूल किन रोपेको ?” हजुरबुवाले मुस्कुराउँदै भन्नुभयो, “हेर नाति, फूलले हाम्रो घर मात्र होइन, हाम्रो मनलाई पनि सजाउँछ । सयपत्रीले खुसीको रङ दिन्छ ।” हजुरुबुवाले लालुपातेले साहस र श्रद्धा सिकाउँछ भन्नुभयो । “चमेलीले शान्ति र सुगन्ध छर्छ । फूलले मौरीलाई खाना, चरालाई घर र वातावरणलाई स्वच्छता दिन्छन् । मान्छेलाई सौन्दर्य दिँदै रङ्गीन बनाउँछन्” हजुरबुवाले बुझाउनुभयो । 

नातिले हजुरबुवाको कुरालाई निकै ध्यान दिएर सुन्दै थिए । “त्यसो भए फूल त प्रकृति र सन्तोषको भाव सिकाउने शिक्षक रहेछन् है ?” उनले निकै अभिरुचिपूर्वक भने । 

“हो नि !” हजुरबुवाले टाउको हल्लाउँदै उत्तर दिनुभयो । “फूलले धैर्य, माया र प्रकृतिलाई सम्मान गर्न सिकाउँछ । फूल हुर्काउन हेरचाह चाहिन्छ । हेरचाह गर्दा कठोर मेहनतको फल मिठो हुन्छ भन्ने पाठ सिकाउँछ ।”

नातिले खुसी हुँदै फूलमा हात लगाउँदै भने, “हजुरबा, अब हामी अर्को फूल पनि रोपौँ न । मलाई त बगैँचालाई अझै रङ्गीन बनाउन मन लाग्यो ।” 

हजुरबाले स्नेहिल मुस्कानसहित भन्नुभयो, “हुन्छ नाति अब हामी आज एउटा नयाँ फूल रोपेर बगैँचालाई थप मुस्कान दिने छौँ ।” यसपछि दुवै मिलेर गुलाफको सानो बिरुवा रोपे । बगैँचाको आकाशमा खुसीको एक अर्को रङ थपियो । नयाँ साथी पाएपछि त्यहाँ भएका सबै फूल दङ्ग पर्दै नाच्न थाले । 

   मुना