चन्द्र पन्दाक
ताप्लेजुङ, माघ १९ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीलाई आइतबारदेखि तालिम दिन सुरु गरिएको छ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन प्रहरीलाई तालिम दिन सुरु गरिएको हो ।
नेपाल प्रहरीतर्फ छनोट भएका ८४६ जना र शसस्त्र प्रहरीमार्फत छनोट भएका ४६ गरी ८९२ जना निर्वाचन प्रहरीलाई तालिम दिन थालिएको हो । नेपाल प्रहरीमार्फत छनोट भएका निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय चाँगे दोभान र इलाका प्रहरी कार्यालय तेल्लोक गरी तीन स्थानमा तालिम सुरु गरिएको छ ।
छनोट भएका निर्वाचन प्रहरीलाई तालिममा सहभागी हुनका लागि पायक पर्ने स्थान रोज्न लगाइएको थियो । सोहीअनुसार उनीहरुलाई सहभागी गराएर तालिम दिन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवम् निर्वाचन प्रहरी भर्ना छनोट उपसमिति सदस्यसचिव आशिस पोखरेलले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक पोखरेलका अनुसार जिल्ला प्रहरी कार्यालयबाट सबैभन्दा ४५० जना निर्वाचन प्रहरीलाई तालिम दिन सुरु गरिएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय चाँगे दोभानबाट २६८ जना र इलाका प्रहरी कार्यालय तेल्लोकबाट १२८ जना निर्वाचन प्रहरीलाई तालिम दिन थालिएको उहाँले जानकारी दिनुभयो ।
यस्तै, सशस्त्र प्रहरीमार्फत छनोट भएका ४६ जना निर्वाचन प्रहरीलाई पनि आइतबारदेखि नै तालिम दिन सुरु गरिएको छ । जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी निरीक्षक एनीकुमार तामाङका अनुसार ४६ जना निर्वाचन प्रहरीलाई गुल्मबाटै तालिम प्रदान गरिँदै आएको छ ।
आइतबारदेखि सुरु भएको तालिम १० दिनसम्म अर्थात आउँदो माघ २७ गतेसम्म सञ्चालन हुने ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो । प्रनाउ गौतमका अनुसार तालिम सम्पन्न भएपछि निर्वाचन प्रहरी निर्वाचन सुरक्षामा खटिने छन् ।